मिदिम खोला लघु जलविद्युत्को उत्पादन जोडियो ग्रीडमा |
काठमाडौं । लमजुङको मध्य नेपाल नगरपालिकास्थित करापुटारमा सञ्चालनमा आएको मिदिम खोला लघु जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रियण प्रसारण लाइनमा (ग्रीड) मा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले सय किलोवाटभन्दा कम क्षमताका लघु जलविद्युत्लाई ग्रीडमा जोड्न स्वीकृति दिएपछि पछिल्लोपटक उक्त आयोजनाको विद्युत् पनि ग्रीडमा जोडिएको हो । सो आयोजना १०० किलोवाट क्षमताको हो ।
सो आयोजना मदरल्याण्ड इनर्जी ग्रुप र पावर टेक नेपालको प्राविधिक सहयोगमा ग्रीडमा जडान भएको हो । उक्त आयोजनाबाट उत्पादित विद्युत् भोर्लेटारस्थित ११ केभी लाइनमा जोडिएको ग्रुपका अध्यक्ष कृष्णप्रसाद देवकोटाले बताए । उनले भने, ‘प्राविधिक टोलीले १५ दिनको परीक्षणपछि सो आयोजनाबाट उत्पादित विद्युत्लाई सफलतापूर्वक ग्रीडमा जोड्न सफल भएको हो ।’
प्राधिकरणको बोर्डले २०७१ साउनमा १०० किलोवाटमुनिका लघु जलविद्युत् आयोजनालाई केन्द्रीय प्रसारणलाइनमा जोड्न सकिने निर्णय गरेपछि चारवटा आयोजना ग्रीडमा जोडिएका हुन् । प्राधिकरणका अनुसार यसअघि नुवाकोटको स्याउरेभूमे खोलाको २३ किलोवाट, धनकुटाको लेगुवा खोलाको ४० किलोवाट र ताप्लेजुङ सेगुवा खोलाको ९० किलोवाट विद्युत् पनि ग्रीडमा जोडिएको छ । यी सबै आयोजनाको विद्युत् ११ केभी लाइनमा जोडिएको छ ।
हाल लघु जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्मध्ये करिब २८ प्रतिशत मात्रै उपयोगमा आएको छ । बाँकी ७२ प्रतिशत त्यत्तिकै खेर गइरहेको छ । त्यसलाई उपयोग गर्न ग्रीडमा जोड्नुको विकल्प नभएको ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमका ग्रीड इण्टरकनेक्सन विज्ञ जीवनकुमार मल्लिकले बताए । उनले भने, ‘विद्युत् आदानप्रदान गर्न हालको जस्तो पीपीएले सम्बोधन नगर्ने भएकाले त्यसको सट्टा विद्युत् आदानप्रदान (पीईए) गर्नुपर्ने हुन्छ ।’
लघुजलविद्युत्लाई ग्रीडमा जोड्न पीपीएदेखि अन्य प्रक्रिया ठूला आयोजनासरह नै रहेको छ । लघु जलविद्युत्लाई सामान्य फाराम भरेर मात्रै ग्रीडमा जोड्न सकिने गरी सरलीकरण गर्नु आवश्यक रहेको उनको भनाइ छ ।