प्रहरीले ल्यायो मोबाइल ‘फरेन्सिक’ भ्यान | जघन्य प्रकृतिका अपराध अनुसन्धानका लागि सहयोग पुग्ने
काठमाडौं । नेपाल प्रहरीले घटनास्थलको सुरक्षा र प्रमाण सङ्कलनलाई प्रभावकारी बनाउन मोबाइल फरेन्सिक भ्यान ल्याएको छ । यसको मूल्य १ करोड ४१ लाख रुपैयाँ रहेको छ ।
भारतबाट ९६ लाखमा फोर्स कम्पनीको गाडी खरिद गरेर ४५ लाखको फरेन्सिक सामग्री जडान गरेर मोबाइल भ्यान तयार गरिएको छ । उपत्यकामा हुने जघन्य प्रकृतिका अपराध अनुसन्धानका लागि घटनास्थलमा प्रयोग गर्ने गरी यो भ्यान तयार गरिएको छ ।
प्रहरीका अनुसार भ्यानलाई सञ्चानका लागि १० जना क्राइम सिन अफिसर (सोको) को टोली तयार गरिएको छ । भ्यानमा एक पटकमा ४ जना मात्रै बस्न सक्छन ।
भ्यानलाई महानगरीय अपराध अनुसन्धान महशाखा, टेकुमा राखिनेछ । प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहलाई भ्यानको चाबी हस्तान्तरण गरे ।
समारोहपछि संक्षिप्त मन्तव्य दिँदै आईजीपी खनालले मोबाइल फरेन्सिक भ्यानको प्रयोगले वस्तुनिष्ठ अनुसन्धान, प्रमाणको सुरक्षा र अपराध नियन्त्रणमा सहजता पुग्ने विश्वास व्यक्त गरे ।