अमेरिकी पूर्वराष्ट्रपति ओबामा धोक्रो बोकेर अस्पतालमा |
काठमाडौं । नेपालका पूर्वराष्ट्रपतिको कुरै छाडौं पूर्वमन्त्रीको पनि छुट्टै रवाफ हुन्छ, वरिपरी २⁄४ जना सुरक्षा गार्ड राखेर ठाँटिएर हिँडेका हुन्छन् र भाषणमै दैनिकी बित्छ ।
बाराक ओबामा संसारकै शक्तिशाली राष्ट्र अमेरिकाका पूर्व राष्ट्रपति हुन् । यी शक्तिशाली राष्ट्रका शक्तिशाली व्यक्तिको जीवनशैली कस्तो होला भन्ने जिज्ञासा हामी सबैको मनमा हुनु स्वभाविक हो । सन् २०१७ को जनवरी २० मा डोनाल्ड ट्रम्पलाई कार्यभार हस्तान्तरण गरेका उनी अहिले आफ्नै वकिल पेशालाई निरन्तरता दिइरहेका छन् ।
तर, हालै उनी राजधानी वासिङ्टनको उत्तरपूर्वी क्षेत्रमा रहेको चिल्ड्रेन्स नेशनल अस्पतालमा पुगेर क्रिसमसको अवसरमा उपहार बाँडेको विषय यतिबेला चर्चामा छ ।
सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा धोक्रो बोकेर अस्पताल आएका ओबामालाई देखेर धेरै व्यक्ति आश्चर्यमा परे । उनले बिरामी बालबालिकाहरुलाई भेटेर उपहार बाँड्नुका साथै तस्वीरसमेत खिचाएका छन् । आफ्ना बालबालिकाको बिमारीबाट चिन्तित अभिभावकलाई ओबामाले सहानुभूति पनि दिन्छन् । अस्पतालमा ९० मिनेट बिताएका उनले चिकित्सक तथा नर्ससँग भलाकुसारी गरेको बासिंटन पोस्टले लेखेको छ ।
बालबालिकालाई दिने उपहारको धोक्रो बोकेर हिँडेका ओबामाको फोटो र भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । अमेरिकाभन्दा पनि रवाफिलो जीवनशैली बिताउने नेता भएका देशमा यसले बढी चर्चा बटुलेको छ ।