त्रिशुली जलविद्युतको आइपीओ परेको बाँकी रकम भुक्तानी गर्ने म्याद थप |
काठमाडौं । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको सेयर बापतको बाँकी रकम भुक्तानी गर्ने समय थप गरेकोछ । अब सेयरका लागि अग्रिम भुक्तानी गरेका साविका सेयरधनीहरुले आज आइतबार (मंसिर १८ गते) देखि फागुन १७ गतेसम्म बाँकी रकम जम्मा गर्न सक्नेछन् ।
जनताको जलविद्युत कार्यक्रमअन्तर्गतको यो आयोजनाको आइपीओ २०७५ चैत ७ गते खुलेको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।
उक्त सेयरमा अंकित मूल्यको १०% का दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो । कम्पनीले अग्रिम भुक्तानी गरेका सेयरधनीहरुलाई ८% ब्याज प्रदान गरी प्रतिसेयर ८७ रुपैयाँका दरले असोज ४ गतेदेखि कात्तिक १७ गतेसम्ममा भुक्तानी गर्न माग गको थियो । उक्त समयमा आवेदन नदिएका सेयरधनीले भने अब (मंसिर १८ देखि फागुन १७ गतेसम्म) रकम बुझाउने ३ महिनाको अवधिको वार्षिक ८% का दरले लाग्ने प्रतिसेयर ब्याज दर रकम १ रुपैयाँ ७४ पैसा थप गरी ८८ रुपैयाँ ७४ पैसा बुझाउनुपर्ने कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत उक्त रकम भुक्तानी गर्न सकिने छ ।
थप गरिएको अवधिसम्ममा पनि रकम नबुझाउने साविकका सेयरधनीहरुको हकमा उनीहरुले आफ्नो बाँडफाँटमा परेको सेयरको अग्रिम रुपमा भुक्तानी गरेको रकम र सो रकममा कम्पनीले प्रदान गरेको ब्याज रकमले खामेजति संख्याको सेयर कायम गरी सेयरधनीहरुको नाममा रहेको बाँकी सेयर जफत गरिने कम्पनीले जनाएको छ।