जीवन बिमा कम्पनीहरुको प्रदर्शन सन्तोषजनक, नेपाल लाइफकाे अग्रता कायमै |
काठमाडौं । जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट सार्वजनिक गरेका १२ जीवन बिमा कम्पनीहरुमध्ये अधिकांशको खुद नाफा, रिजर्भ कोष र प्रतिसेयर आम्दानीमा वृद्धि भएको छ । यस्तै, १२ वटै कम्पनीहरुको जीवन बिमा कोषको आकार पनि बढेको छ । यी कम्पनीहरुको जीवन बिमा कोषको आकार समग्रमा २१.३१% ले बढेर ४ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ । समग्रमा पहिलो त्रैमासमा जीवन बिमा कम्पनीहरुको प्रदर्शन सन्तोषजनक नै देखिएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्सले अधिकाँश सूचकमा आफ्नो अग्रता कायमै राख्न सफल भएको छ । चुक्ता पूँजी सबै भन्दा धेरै रहेको नेपाल लाइफ जीवन बीमा क्षेत्रमा क्रियाशील र शेयर बजारमा सूचीकृत मध्ये बलियो कम्पनी पनि हो ।
चुक्ता पूँजी सबैभन्दा धेरै ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको नेपाल लाइफको बीमा व्यवसायको मुख्य श्रोत खुद बीमाशुल्क आर्जन, जीवन बीमा कोष र कुल बीमाशुल्कमा भने अग्रता कायमै राख्न सफल भएको छ ।
नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमा प्रभु लाइफ र सानिमा लाइफ भने तुलनात्मक रुपमा कमजोर देखिएका छन् ।
नेपाल लाइफपछि नेशनल लाइफको चुक्ता पूँजी अन्यको तुलनामा बढी अर्थात ४ अर्ब ३ करोड ५१ लाख रुपैयाँ रहेको छ । सानिमा लाइफ र प्रभु लाइफको चुक्ता पूँजी सबैभन्दा कम दुई अर्ब रुपैयाँ मात्रै रहेको छ ।
नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुले यस अवधिमा कूल २८ अर्ब ९८ करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् । त्यसमा नेपाल लाइफको मात्रै ९ अर्ब ९३ करोड ९६ लाख रुपैयाँ रहेको छ ।
नेपाल लाइफ पछि एलआइसी नेपालले सबै भन्दा धेरै ४ अर्ब ४९ करोड रुपैयाँ र नेशनल लाइफले ४ अर्ब १८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् ।
यस्तै युनियन लाइफले १ अर्ब ८६ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ६४ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब २६ करोड रुपैयाँ र प्राइम लाइफले १ अर्ब १४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् । बाँकी कुनै पनि कम्पनीले खुद बीमाशुल्क १ अर्ब माथि संकलन गरेका छैनन् ।
सबैभन्दा कम खुद बीमाशुल्क आर्जन गर्नेमा प्रभु लाइफ इन्स्योरेन्स रहेको छ । प्रभुले यस अवधिमा ५१ करोड २१ करोड रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको छ ।