कैलाली ५ मा दुई थारु भीड्दा पन्तलाई सहज |
कैलाली । प्रतिनिधिसभाको आसन्न निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ लाई पनि धेरैले चासोका साथ हेरेका छन् । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई पराजित गरेका नारदमुनि राना यस पटक पनि यसै क्षेत्रमा एमालेबाट उम्मेदवार बनेका छन् ।
रानाविरुद्ध आरजु नै उम्मेदवार बन्ने चर्चा भए पनि उनी अन्तिम समयमा समानुपातिकमा बसिन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका डिल्लीराज पन्तले रानासँग प्रतिस्पर्धा गर्दैछन् ।
पन्त २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । पन्त र रानाबीचको प्रतिस्पर्धाले मात्रै होइन, यहाँ प्रतिस्पर्धामा रहेका स्वतन्त्र उम्मेदवारहरु पनि प्रभावशाली रहेका कारण यो क्षेत्रप्रति धेरैको चासो बढेको छ ।
कांग्रेसको विद्रोही नेताको रुपमा चिनिएका पुष्करनाथ ओझाका साथै नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाएको जगदीश चौधरी पनि चुनावी मैदानमा स्वतन्त्र उम्मेदवारका रुपमा उत्रिएका छन् ।
यस निर्वाचन क्षेत्रमा धनगढी उपमहानगरपालिकाको पूरै (१९ वडा) र कैलारी गाउँपालिकाको ६ र ९ गरी २ वडा समेटिएको छ । यो क्षेत्रमा एक लाख पाँच हजार ७९३ जना मतदाता छन् । स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतलाई आधार अनुसार कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मिलाएर यहाँ सत्तारुढ गठबन्धनसँग ३२ हजार ६१९ मत देखिन्छ । नेकपा एमाले यस क्षेत्रमा १७ हजार ४२० मत ल्याएको छ ।
यता ०७४ को निर्वाचन अघि कैलाली निर्वाचन क्षेत्र नं. ५ कांग्रेसको बलियो आधार ईलाका मानिन्थ्यो । २०४८ सालमा कांग्रेसका नेता टेकबहादुर चोख्याल यसै क्षेत्रबाट निर्वाचित भएका थिए । तर २०५२ को मध्यावधि निर्वाचनमा भने एमालेका महेश्वर पाठकले चुनाव जिते । २०५६ को आमनिर्वाचनमा कांग्रेसले फेरि इतिहास दोहो–यायो ।
२०६४ को संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा माओवादीकी उम्मेदवार लिला भण्डारीले जिते पनि २०७० को संविधानसभा सदस्य निर्वाचनमा वर्तमान प्रधानमन्त्री देउवा झण्डै दोब्बर मतान्तरले यसै क्षेत्रबाट निर्वाचित भए ।
२०७४ को स्थानीय निर्वाचनमा पनि धनगढी उपमहानगरपालिकामा मेयर र उपमेयर दुवै कांग्रेसकै पोल्टामा गयो । तर ०७४ मा एमालेका नारदमुनि रानाले चुनाव जिते । २७ हजार २०२ मत ल्याएका रानाले कांग्रेस आरजु राणा देउवालाई चार हजार ८८० कोे मतान्तरले पराजित गरेका थिए ।
को हुन् पन्त ?
कांग्रेसका नेता समेत रहेका बुबा चेतराज पन्त र आमा हरिप्रिया देवी पन्तको कोखबाट २०१२ फागुन १२ गते डिल्लीराज पन्तको जन्म कैलालीमा भएको हो । उनका बुवाले २००६ सालमा मातृका प्रसाद कोइरालाबाट नेपाली कांग्रेसको सदस्यता लिएका थिए । २००७ सालको क्रान्तिमा उनका बुबाले कैलाली, बेलौरी र ब्रह्मदेवको क्रान्तिसँगसँगै डोटीको पनि नेतृत्व लिएका थिए । सालको आन्दोलन सफल भएपछि धनगढीमा ठूलो आमसभा भयो । त्यसको सभापतित्व मेरो उनका बुवाले गरेका थिए ।
डिल्लीराजको राजनीतिक जीवन भने २०२९ देखि सुरु भएको हो । उनमा सानैदेखि पञ्चायती व्यवस्थाप्रति वितृष्णा थियो । धनगढीको पञ्चोदय विद्यालयमा कक्षा १० मा अध्ययनरत रहँदै पञ्चायती शासनविरुद्ध काम गरेको भन्दै आफूले ६ महिना जेल जीवन भोग्नु परेको उनी सुनाउँछन् ।
जेलबाट छुटेपछि धनगढीमा क्याम्पस नभएकाले उनी अध्ययनको क्रममा भारतको देहरादुन गए । त्यहाँबाटै बीएसम्म अध्ययन गरे । अध्ययनताका नै उनी कांग्रेसका विभिन्न गतिविधिमा संलग्न थिए । पञ्चायती व्यवस्थाको विरुद्धमा अभियान चलाउँथे । देहरादुनमै उनले शेरबहादुर देउवासँग भेट गर्ने मौका पाएका थिए । त्यसपछि उनी नेविसंघको राजनीतिमा सक्रियतापूर्वक लागे ।
पन्त कांग्रेसको राजनीतिक जीवनमा क्रियाशील भए पनि मुख्य जिम्मेवारीबाट वञ्चित हुँदै आएको सुनाउँछन् । २०७४ को निर्वाचनमा प्रदेशसभामा कांग्रेसले उम्मेदवारीको अवसर दिएको र जनताले पनि आफूलाई जिताएको उनको भनाइ छ ।
पन्त आफ्नो संघर्ष, पृष्ठभूमि र आफू खान्दानी कांग्रेस हुनुलाई चुनाव जित्ने प्रमुख आधार रहेको जिकिर गर्छन् । साथै यस क्षेत्रको सामाजिक क्षेत्रमा गरेको कामले पनि जनतामा राम्रो छाप परेको उनको भनाइ छ ।
उनले भने ‘यहाँ सबैसँग परिचित छु । मेरो आफ्नै सामाजिक जीवन छ । ६ वर्ष त्रिनगर माविको अध्यक्ष भएँ । प्लस टुसम्म सञ्चालन गराइयो । आफ्नो जग्गा धितो राखेर विद्यालयको आयस्रोत बढाउन सपिङ कमप्लेक्स बनाएँ । ८ वर्ष रेडक्रस कैलालीको कोषाध्यक्ष भएँ ।’
आफ्नो व्यक्तित्वको प्रभावका अतिरिक्त कांग्रेस देशकै सशक्त पार्टी भएको र त्यसको उम्मेदवार भएकाले पनि आफू विजयी हुने उनको भनाइ छ ।
उनले गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउने, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने, गौरीफन्टा नाकाको स्तरोन्नति गर्ने, रासायनिक मलको करखाना स्थापना गर्ने एजेण्डा अघि सारेका छन् ।
को हुन् नारदमुनि ?
२०२९ साल बैशाख १९ गते बुबा रतिराम रानाथारु र आमा सुदामा देवी रानाथारुको कोखबाट धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँको मध्यमवर्गीय परिवारमा जन्मेका राना बाल्यकालदेखि नै लगनशील, क्रान्तिकारी स्वभावका हुन् । स्कूले शिक्षा धनगढी माध्यमिक विद्यालयबाट लिएका रानाले कैलाली बहमुखी क्याम्पस धनगढीबाट राजनीतिशास्त्रमा स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।
युवा अवस्थादेखि विभिन्न रचनात्मक गतिविधि तथा वैचारिक कार्यक्रममा बस्न रुचाउने राना क्याम्पस अध्ययनकै क्रममा विभिन्न राजनीतिक गतिविधिमा सक्रिय थिए । फलतः २०४५ सालमा तत्कालीन अखिल छैठौंबाट विद्यार्थी राजनीति सुरु गरे ।
२०४८ सालदेखि नेकपा एमाले निकट विद्यार्थी संगठन हुँदै टोल कमिटी, नगर कमिटी, जिल्ला कमिटी, केन्द्रीय कमिटीमा आएका उनी नेकपा एमालेको पोलिटब्यूरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज छन् ।
उनी २०४६ सालको जनआन्दोलनमा थुनामा समेत परेका थिए । क्याम्पस अध्ययनताका मुलधारको राजनीतिमा होमिइसकेका उनले २०५४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन धनगढी नगरपालिकाको उपमेयरका लागि उम्मेदवारी दिए । उक्त निर्वाचनमा उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार मनिराम देवललाई भारी मतान्तरले पराजित गरे ।
एमालेबाट २०६४ सालमा समानुपातिकतर्फ संविधानसभा सदस्य बनेका राना सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील छन् । सेती अञ्चल अस्पताल व्यवस्थापन समितिको अध्यक्षसमेत रहिसकेका राना शिवनगर खानेपानी आयोजनाको संस्थापक अध्यक्षका साथै निरन्तर १० वर्षसम्म अध्यक्ष भएका थिए । उनी आफूले विगतमा गरेको कामलाई आफ्नो जितमो आधार ठान्छन् । तर रानालाई स्वतन्त्र उम्मेदवार जगदीश चौधरी भारी पर्ने सम्भावना बलियो छ । थारु समुदायबाट दुई जना उम्मेदवार भएपछि पन्तलाई चुनाव जित्न सजिलो हुने विश्लेषण भइरहेको छ ।
जगदीश चौधरीलाई नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेपछि पन्तलाई सहज देखिएको धनगढीका स्थानीयबासीको भनाइ छ ।