उम्मेदवार ठकुरीलाई स्पष्टीकरण |
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका कमवानपुर क्षेत्र नं. १ का हाम्रो नेपाली पार्टीका उम्मेदवार दिपेन्द्रचन्द ठकुरीलाई दलीय अवद्धता स्पष्ट नगरी प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।
स्पष्टीकरण पत्रमा भनिएकाे छ– मकवानपुर जिल्ला क्षेत्र नं. १ मा हाम्रो नेपाली पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनुभएका तपाईंले आफ्नो दलीय आवद्धता स्पष्ट नगरी आफ्नो प्रचारप्रसार गर्ने कार्यबाट यही मिति २०७९ मंसिर ४ गते सम्पन्न हुन गइरहेको निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आम मतदाता समेतलाई भ्रमित गर्ने कार्य भएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची २९ को क्रम सङ्ख्या १३ मा हाम्रो नेपाली पार्टीको निर्वाचन चिन्ह “लौरो” उल्लेख छ। त्यसैगरी ऐ. निर्देशिकाको अनुसूची- ३० मा स्वतन्त्र उम्मेदवारको लागि निर्धारण गरिएका निर्वाचन चिन्हहरु उल्लेख गरिएको छ। उक्त अनुसूची ३० बमोजिम कुनै पनि स्वतन्त्र उम्मेदवारले “लौरो” निर्वाचन चिन्ह लिन पाउँदैन। तपाईंले आम मतदातालाई भ्रमित गर्ने र अन्य स्वतन्त्र उम्मेदवारलाई कानूनले प्रदान गर्ने हैसियतको बारेमा आम जनमानसमा साजिसपूर्ण भ्रम सिर्जना गरी मतदाताको सुसूचित भै सार्वभौमिक मताधिकारको प्रयोग गर्न पाउने हक समेतमा चुनौती दिने कार्य गरेबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३, निर्वाचन आयोग ऐन, २०७३, प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ समेतको उल्लंघन भएको छ। निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ञ) मा “सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने र ऐ. दफाको खण्ड (ठ) मा सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने भन्ने व्यवस्था छ। निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम निर्वाचन आचारसंहिता बनाई मिति २०७९ कात्तिक १२ गतेदेखि लागू गरिसकेको छ। ऐ. ऐनको दफा २३ को उपदफा (१) मा “दफा २२ बमोजिम आयोगले बनाएको आचारसंहिता पालना भए नभएको सम्बन्धमा आयोगले आवश्यकता अनुसार संयन्त्र निर्माण गरी जाँचबुझ तथा अनुगमन गर्न सक्ने” तथा ऐ. दफाको उपदफा (२) मा “उपदफा (१) बमोजिम जाँचबुझ वा अनुगमन गर्दा कसैबाट आचारसंहिताको उल्लंघन भएको देखिएमा त्यस्तो काम तुरुन्त रोक्न वा बदर गर्नका लागि आयोगले सम्बन्धित राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आदेश दिनेछ” भन्ने व्यवस्था छ। ऐ. दफाको उपदफा (३) मा ऐ. दफाको उपदफा (२) बमोजिम आयोगले दिएको आदेश बमोजिम काम कारवाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने व्यवस्था छ।
तपाईंले आफ्नो दलीय आवद्धतालाई स्पष्ट नगरी लौरो चुनाव चिन्हमा मत मागेको कार्यबाट निर्वाचन आचारसंहिताको उल्लंघन हुँदैन भन्ने आधार कारण के छ ? तपाईंको दल हाम्रो नेपाली पार्टीलाई “लौरो” निर्वाचन चिन्हका उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्दा अपनाएको तरिकाबाट भ्रम सिर्जना भएको भनी यसपूर्व आयोगबाट पत्राचार समेत भै सकेको सन्दर्भमा तपाईं उक्त दलको उम्मेदवारबाट आयोगको निर्देशन विपरीत पुन: सोही कार्य दोहोरिएबाट तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (४) बमोजिम एक लाख रुपैयासम्म जरिवना र ऐ. दफाको उपदफा (४) बमोजिम उम्मेदवारी बदर सम्मको कारवाही किन गर्नु नपर्ने हो? यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय मकवानपुरमा स्वयम उपस्थित भै लिखित स्पष्टीकरण पेश गर्न भनिएकाे छ ।