विकास बैंक संघले पनि बोलायो बैठक | विकास बैंकहरूले मुद्दती निक्षेपमा ब्याज दर १०.२५ प्रतिशत कायम गर्दै
काठमाडौं । वाणिज्य बैंकहरूले मुद्दी निक्षेपको ब्याज दर घटाउन सहमति गरेपछि विकास बैंकहरूले पनि ब्याज दर घटाउने भएका छन् । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको हिजो बिहीवार सम्पन्न आकस्मिक बैठकले नियामक निकायका अधिकारीहरूको निर्देशनअनुसार पुनः भद्र सहमति गरेर ब्याजदर साढे ९ प्रतिशतसम्म मात्र दिन पाउने निर्णय गरेसँगै विकास बैंकहरूको छाता संगठन विकास बैंक संघको पनि आज बैठक बसिरहेको छ ।
विकास बैंक संघले पनि ब्याजदर घटाउनकै लागि बैठक डाकेको स्रोतले बताएको छ । वाणिज्य बैंकहरूले मुद्दी निक्षेपको ब्याज दर बढाएर साढे १३ प्रतिशतसम्म पुर्याएपछि आफ्नो निक्षेप पनि गुम्ने डरले आत्तिएका विकास बैंकहरू यसअघि पर्सि आइतवारसम्म बाटो हेर्ने र त्यहीअनुसार आफूहरूले पनि ब्याज दर बढाउने निष्कर्षमा पुगेका थिए ।
विकास बैंक संघका अधिकारीहरूका अनुसार, बाणिज्य बैंकहरूले उच्चतम ब्याज ९.२५ प्रतिशतमा झार्ने निर्णय गरेका कारण विकास बैंकहरूले एक प्रतिशत बिन्दु माथिसम्म राख्ने सम्भावना छ । यसो हुँदा विकास बैंकहरूको ब्याज १०.२५ प्रतिशत हुन्छ । आधा प्रतिशत बिन्दु थप गर्न पाइने नियामकीय प्रावधान छ ।
विकास बैंकहरूले बचतमा अधिकतम ७ प्रतिशत दिएकाले त्यसलाई घटाइरहनुपर्ने अवस्था नरहेको ती अधिकारीले बताए । बाणिज्य बैंकहरूले बचतको ब्याज साढे ६ प्रतिशतमा झारेका छन् ।
केही वाणिज्य बैंकहरूले कल डिपोजिट अरुतिर सर्न नदिन बचतको न्यूनतम ब्याज दर नै साढे ६ प्रतिशत कायम गरेकाले विकास बैंकहरूलाई भने अप्ठेरो पर्ने देखिएको छ । त्यसैले उनीहरूले बचतको न्यूनतम ब्याज पनि ७ प्रतिशत नै राख्ने सम्भावना रहने ती अधिकारीले बताए ।