पूर्वगभर्नरसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा | जनही ९१ लाख ९ हजार ८ सय ८९ रुपैयाँ बिगो माग
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलसहित तत्कालीन नोट विभागका प्रमुख उपेन्द्रकेशरी पौड्याल र स्थानीय प्रतिनिधि हिमालयबहादुर पाण्डेविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । आयोगले अष्ट्रेलियामा रू. १० को ५ करोड थान पोलिमर नोट छपाइ गर्दा ९१ लाख ९ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको जानकारी दिएको हो ।
मुद्दामा पोलिमर नोट छपाइ गर्दा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको, नोट प्रिन्टिङ गर्दा अष्ट्रेलियासँग गैरकानुनी मिलेमतो गरेको भन्नेसमेतको उजुरीउपर अनुसन्धान हुँदा बोलपत्रपूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, सञ्चालक समितिका निर्णयहरू चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउनेजस्ता काम भएको उल्लेख छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधिबीचमा निरन्तर पत्राचार हुने, छापिएका नोटका कमीकमजोरी मिडियामा नल्याउनका लागि मिडियाकर्मीहरूलाई थाइल्याण्ड हुँदै अष्ट्रेलिया पठाउने, नोट छपाइका लागि जसलाई पछि कार्यादेश दिइएको हो, उसलाई नै बोलपत्रपूर्व नै नोटको डिजाइन गर्न लगाउने, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजस्व छल्ने नियतले कमिशन उल्लेख नगर्ने, परल मूल्य प्रतिहजार अस्ट्रेलियन डलर ६८ बाट अस्ट्रेलियन डलर ४ बढाउन लगाई सोहीबमोजिम बोलपत्र र सम्झौता गरी नेपाल राष्ट्र बैंकका पीजे, नोट प्रिन्टिङ अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वाभाविक मूल्य तिराई नोक्सानी पुर्याई आफूसमेतलाई फाइदा पुग्ने कसुर गरेको सप्रमाण पुष्टि हुन आएको अख्तियारको दाबी छ ।
अख्तियारले तत्कालीन गभर्नर रावल, नोट विभाग प्रमुख पौड्याल र स्थानीय प्रतिनिधि पाण्डेलाई जनही ९१ लाख ९ हजार ८ सय उनान्नब्बे रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको छ ।