भारतीय सेयर बजारमा फेरि उछाल, सूचक ५२ हप्ताकै उच्चतम विन्दुमा |
काठमाडौं । भारतीय सेयर बजार शुक्रबार ५२ हप्ताकै उच्चतम विन्दुमा पुगेको छ । शुक्रबार बीएसई सेन्सेक्स सूचक ११८१ अंकले बढेर ६१,७९५ विन्दुमा पुगेको छ । जुन एक वर्षयताकै उच्च हो ।
यससँगै, सेन्सेक्स इतिहासकै उच्च विन्दु नजिक पनि पुगेको छ । सेन्सेक्सले यसअघिको अलटाइम हाई विन्दु ६२,२४५ भेट्नलाई अब करिब ५०० अंक मात्र आवश्यक रहेको छ । यता, अर्को सेयर बजार सूचक निफ्टी ५० पनि ३२१ अंकले बढेर १८,३४९ विन्दुमा पुगेको छ । निफ्टी पनि ५२ हप्ताको उच्चतम विन्दुमा पुगेको हो ।
भारतीय सेयर बजारमा उछाल आउनुको प्रमुख कारणमध्ये एकमा अमेरिकाको मुद्रास्फीति सम्बन्धी तथ्यांक रहेको छ । अमेरिकामा बिहीबार मुद्रास्फीति सम्बन्धी तथ्यांक अपेक्षा गरिएको भन्दा नरम आएपछि विश्वभरको सेयर बजार सकारात्मक बनेको थियो । जसको प्रभाव भारतमा पनि परेको हो ।
मुद्रास्फिती कम भएसँगै ब्याजदर वृद्धिको दर पनि कम हुनेमा लगानीकर्ता आशावादी बनेपछि सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । यस्तै, भारतीय रुपैयाँ बलियो बन्नु र विदेशी संथागत लगानीकर्ताले खरिद बढाउनु पनि बजार भारतीय बजार बढ्नुको कारण बनेका छन् ।