सानिमा लाइफले पनि बीमालेख धिताे कर्जाको व्याजदर बढायो |
काठमाडौं । सानिमा लाइफल इन्स्योरेन्सले पनि बीमालेख धितोमा लगानी गर्ने कर्जाको व्याजदर बढाएको छ । कम्पनीबाट विभिन्न मितिमा बीमा गराई बीमालेख धितो कर्जा लिएका बीमित तथा प्रस्तावकहरुको कर्जामा लिइदै आएको व्याजदरलाई परिमार्जन गरेको हो ।
बीमालेख धितोमा कम्पनीले १० प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्दै आएको थियो । त्यसलाई परिमार्जन गर्दै कम्पनीले १२ प्रतिशत पुर्याएको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ व्याजदर कात्तिक १ गते देखि लागु भएको जनाएको छ ।
कम्पनीले बीमितलाई आफुले लिएको कर्जा तथा उक्त कर्जामा लागेको व्याज समयमै भुक्तानी गर्न आग्रह गरेको छ ।
यस अघि सूर्या लाइफ इन्स्योरेन्सले पनि बीमालेख धितो कर्जाको व्याजदर १२ प्रतिशत पुर्याएको थियाे ।
बैंकहरुले ब्याजदर बढाएपछि बीमा कम्पनीहरुले पनि बीमालेख धितो प्रवाह गर्ने कर्जाको ब्याजदर बढाएका हुन् । बीमितहरुले बीमा कम्पनीहरुबाट बीमालेख धितोमा ऋण लिएर बैंकहरुको मुद्दती निक्षेपमा राखेको पाइएपछि व्याजदर बढाउने सहमति गरेका थिए ।