एशियन हाइड्रोपावरको आइपीओ आइतबार बाँडफाँड हुने, १४ लाख बढी आवेदकको हात खाली हुने |
काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म निष्काशन गरेको शेयर आइतबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आइपीओ आइतबार बिहान ९ बजे क्यापिटलको कार्यलयमा बाँडफाँड गरिने छ।
कम्पनीले निश्काशन गरेको आइपीओमा १४ लाख ९२ हजार ७७८ आवेदकबाट १ अर्ब ६६ करोड २६ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख २६ हजार ५२० कित्ताको लागि आवेदन परेको छ।
यो सर्वसाधारणको लागि निष्काशन गरेको ६ लाख ९७ हजार २०० कित्ता शेयरको २३.८४ गुणा बढी हो ।
कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतका दरले हुने आउने ८ करोड ४० लाख रपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण शेयरमध्ये ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा र ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी कम्पनीका कर्मचारीहरुको लागि १६ हजार ८०० कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार योग्य आवेदक मध्ये ६९ हजार ७२० जनाले मात्रै शेयर पाउनेछन् ।