आत्मनिर्भर लघुवित्तको आइपीओमा ४७.१६ गुणा बढी आवेदन |
काठमाडौं । आत्मनिर्भर लघुवित्तको आइपीओमा ८० करोड ५ लाख ८६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (फागुन १२ गते) दिँउसो १ः३४ बजेसम्ममा ७ लाख ८ हजार ४३ जनाले ८० लाख ५ हजार ८६० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ४७.१६ गुणा बढी आवेदन हो ।
कम्पनीले बिहीबार (फागुन ११ गते) देखि आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५% ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गरेको हो । जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन भएको छ । यसमध्ये १०% अर्थात् २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ ।
यस्तै, जारी पुँजीको ०.५% अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५% अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन पाउनेछन् ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तको आइपीओलाई ‘केयर एनपी बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमता उच्च जोखिम रहेको जाउँछ । केयर नेपालले २०७९ जेठ २६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० जेठ २६ गतेसम्म बाहल रहनेछ ।