आठौं संस्करणको बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो सुरू, १५० कम्पनीका ४०० भन्दा बढी ब्राण्ड सहभागी |
काठमाडौं । आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो सुरु भएको छ । बिहीबार शहरी विकास मन्त्री विक्रम पाण्डेले एक्सपोको उद्घाटन गरेका छन् ।
भृकुटीमण्डपमा सुरु भएको एक्स्पो फागुन १४ गतेसम्म सञ्चालन हुने छ । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोसँगै नेपाल हाउजीङ्ग एण्ड इनभेसटमेन्ट एक्स्पो, नेपाल हेवी इकयुपमेन्ट एण्ड कन्सट्रकसन अन्तराष्ट्रिय एक्स्पो पनि सुरु भएको छ ।
नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोसँगै नेपाल हाउजिङ एण्ड इन्भेसटमेन्ट एक्स्पो र नेपाल हेभी इक्युपमेन्ट एण्ड कन्स्ट्रकसन अन्तर्राष्ट्रिय एक्स्पोसँगसँगै भइरहेको आयोजक संस्था मिडिया स्पेशका निर्देशक सृजल भट्टराईले बताए ।
निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूबारे एकै ठाउँमा जानकारी दिने गरी नेपालकै ठूलो निर्माणसम्बन्धी मेला आयोजना भएको भट्टराईले बताए।
उनका अनुसार यो मेलाले नयाँ प्रविधिको जानकारी दिने, व्यवसाय प्रवर्द्धन गर्ने र सम्बन्धित कम्पनी तथा यसका उत्पादनको ब्राण्डिङ गर्ने उद्देश्य लिएको छ ।
मेलामा १५० कम्पनीको ४०० भन्दा बढी ब्राण्डले सहभागिता जनाएका छन् । मेलामा ७५ वटा नेपाली र सोही नै संख्यामा विदेशी कम्पनीको सहभागिता रहेको पनि भट्टराईले बताए।
विश्वभर चलेका ब्राण्ड र यसका उत्पादनको जानकारी मेलाले दिने छ । मेलामा निर्माण क्षेत्रका इन्जिनियर, प्राविधिक, निर्माण गर्न चाहेका आम नेपालीसहितको सहभागिता उल्लेख्य हुने छ ।
यो मेलामा आउनेले केही नयाँ उत्पादन वा कम्पनीबारे सिक्ने, नयाँ प्रयोगप्रति प्रोत्साहन मिल्नेदेखि विदेशी कम्पनी र यसका उत्पादनको प्रयोग गर्न सक्ने बताए ।
मेलाबाट लिएको जानकारी र ज्ञानलाई तत्कालै प्रयोग गर्नेदेखि भविष्यमा आवश्यक पर्दा उपयोगी हुने भएकोले पनि सहभागीलाई प्रवेश निःशुल्क गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।