१८ प्रतिशतले घट्यो व्यापार घाटा, नौं खर्बको आयात हुँदा ९३ अर्बको निर्यात |

काठमाडौं । चालू आर्थिक वर्षको सात महिना अर्थात साउनदेखि माघसम्म आयात निर्यात दुबै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा निर्यात २९ प्रतिशतले घट्दा आयात १९ प्रतिशतले घटेको देखिएको हो ।
भन्सार विभागका अनुसार यस चालू आर्थिक वर्षको सात महिनाको अवधिमा निर्यात २९ दशमलव ०३ प्रतिशतले घटेको छ । सात महिनामा ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले निर्यात गरेको छ । गएको वर्षको यही अवधिमा एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो ।
त्यस्तै, आयात पनि १९ दशमलव ९० प्रतिशतले घटेको छ । सात महिनामा ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । गएको वर्षको सात महिनामा ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख रुपैयाँको वस्तु र सेवा आयात गरिएको थियो ।
भन्सार विभागका अनुसार सात महिनामा नेपालको व्यापार घाटा १८.७१ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा नेपालले १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको थियो । तर, चालू आर्थिक वर्षका सात महिनामा नेपालको व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड ३० लाख रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।
त्यस्तै, यस अवधिमा वैदेशिक व्यापार २०.८४ प्रतिशतले घटेको छ । चालू आवको सात महिनामा १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।