नेशनल माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने |
धादिङबेसी । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको धादिङबेसीमा भएको साधारणसभाले आर्थिक वर्ष २०७४⁄७५ को नाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले पारित गरेपछि संस्थाको चुक्ता पूँजी १२ करोड तीन लाख ५६ हजार रुपैयाँबाट वृद्धि भई १५ करोड चार लाख ४५ हजार रुपैयाँ पुगेको अध्यक्ष केशवप्रसाद आचार्यले बताए ।
वित्तीय संस्थाले चार वर्षमा ३७ जिल्लामा ५० शाखामार्फत सेवा दिइरहेको छ । धादिङमा नीलकण्ठ नगरपालिकाको धादिङबेँशी र गोगनपानीमा शाखा छ । नेशनल माइक्रोफाइनान्सले १३ करोड ४६ लाख रुपैयाँ नाफा गरेको छ । संस्थाले गत वर्षको तुलनामा १५ प्रतिशत बढी नाफा गरेको हो ।
नीलकण्ठ नगरपालिकामा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले हाल दुई अर्ब ६३ करोड रुपैयाँको लगानीमा रहेको कर्जामा नाफा गर्न सफल भएको अध्यक्ष आचार्यले जानकारी दिएका छन् । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको उक्त वित्तीय संस्था २०७१ असारदेखि सञ्चालनमा आएको हो ।
संस्थाले नौ अर्ब ८६ करोड छ लाख रुपैयाँ कर्जा वितरण गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले जानकारी दिए । संस्थाले विपन्न परिवारलाई कुखुरापालन, तरकारीखेती, बाख्रापालन, बङ्गुरपालन, साना व्यवसाय तथा पसल सञ्चालन गर्न ऋण लगानी गर्दै आएको छ ।
शाखा रहेका ठाउँका ४६ हजारभन्दा बढी परिवारलाई आयआर्जनका हेतुले विभिन्न परियोजना सञ्चालनसमेत गरिएको छ । साधारणसभाले रवीन सिजापती, बरुण श्रेष्ठ, राजीव गिरी र केशवप्रसाद आचार्यलाई सञ्चालकमा निर्वाचित गरेको छ ।