क्यास्ट्रोलद्वारा अटो मेकानिक्सको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना |

काठमाडौं । क्यास्ट्रोल लुब्रिकेन्ट्सले नेपाल अटो मेकानिक्स व्यवसायी संघको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको छ । एक कार्यक्रमको आयोजना गरेर क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका म्यानेजिङ डाइरेक्टर ज्ञानप्रसाद कर्माचार्यको समूहले संघको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गरेको हो ।
सो अवसरमा कर्माचार्यले अटो मेकानिक्स व्यवसायीहरुसँग क्यास्ट्रोलको लामो समयदेखि सहकार्य भएको बताउदै आगामी दिनमा समेत सो सम्बन्ध कायमै रहने अपेक्षा गरे ।
नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष दीपक खड्काले संघको स्थापना कालदेखि नै क्यास्ट्रोलको सहयोग रहेको स्मरण गर्दै स्थापना कालदेखि नै जेन्युइन पार्ट्स र लुब्रिकेन्ट्सको प्रयोगमा जोड दिदै आएको संघले क्यास्ट्रोल लगायत सबै लुब्रिकेन्ट्ससँग आगामी दिनमा समेत सहकार्य जारी राख्ने बताए । संघले अटो वर्कसपका लागि एकै स्थानमा अटोल्यान्डको माग गरिरहेको भए तापनि हाल प्रयोगमा रहेको आफ्नो वर्कसपलाई सबैले उपयुक्त तरिकाले सुधार गरी अनुसरणयोग्य बनाउनु पर्ने कुरामा उनले जोड दिए ।
संघका नवनिर्वाचित अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले नयाँ परिस्थितिमा वर्कसपहरु समेत वातावरणीय दृष्टिकोणले उपयुक्त रहनु पर्ने भएकाले त्यसै अनुसार मेकानिक्सहरुले पनि आवश्यक व्यवस्था गर्नुपर्ने र सरकारले आवश्यक सहयोग गरेमा राष्ट्रलाई योगदान गर्नका लागि सधै तयार रहेको बताए । उनले गुणस्तरीय लुब्रिकेन्टको प्रयोगबाट सवारी साधन सुरक्षित बनाउन सकिने र सडक सुरक्षामा समेत सहयोग पुग्ने भएकाले क्यास्ट्रोल लगायतका गुणस्तरीय लुब्रिकेन्टसँग सदैव सहयोग आदानप्रदान गरिने बताए ।