नागढुंगा–नौबिसेको मुख्य सुरुङ खन्ने काम अहिलेसम्म ७४.२० प्रतिशत सम्पन्न |
काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाको मुख्य सुरुङ खन्ने काम ७४.२० प्रतिशत सकिएको छ । नागढुंगा सुरुङमार्ग आयोजनाले शुक्रबार (फागुन ५ गते) सार्वजनिक गरेको हालसम्मको प्रगति विवरण अनुसार मुख्य सुरुङ खन्ने काम ७४.२० प्रतिशत सकिएको छ । यस्तै, आयोजनामा अनुसार अहिलेसम्म इभ्याकुएसन र मुख्य सुरुङ गरी ४ हजार ८३ मिटर मुख्य सुरुङ खन्ने काम पुरा भएको छ ।
जसअन्तर्गत मुख्य सुरुङको कुलमध्ये १ हजार ८१३ मिटर खनेर सकिएको हो । मुख्य सुरुङ कुल २ हजार ६८८ मिटर लामो छ । यसमध्ये पूर्वतर्फ ८७१.८० मिटर र पश्चिमबाट ९४१.२० मिटर खनेर सकिएको हो । यसबाहेक इभ्याकुएसन टनेल कुल २ हजार ५५७ मिटर रहेकामा २ हजार ६९.८० मिटर खनिसकिएको छ । यो सुरुङ पूर्वबाट ११ सय १३.२० मिटर र पश्चिमबाट ९५६.६० मिटर सम्पन्न भएको छ ।
आयोजनाले यसको प्रगति विवरण हरेका महिना सार्वजनिक गर्ने गरेको छ । जापान सरकारको सहुलियत पूर्ण ऋणमा निर्माण भइरहेको सुरुङ मार्गको निर्माण अवधि ४२ महिना रहेको छ । नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेसनबीच विसं २०७६ असोजमा सम्झौता भएको थियो । सुरुङ मार्ग सञ्चालनमा आएसँगै नागढुंगा–नौबीसे सडक खण्डमा दैनिक रूपमा हुने जाम हट्ने विश्वास गरिएको छ । आयोजना अन्तर्गत साढे नौ मिटर र चार मिटर चौडाइका गरेर दुई वटा सुरुङको निर्माण हुनेछ ।