ट्विटरका भारतस्थित ३ मध्ये २ कार्यालय बन्द, कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन |
काठमाडौं । ट्विटरले भारतमा रहेका आफ्ना ३ वटा कार्यालयमध्ये २ वटा बन्द गरेको छ । ट्विटरले दिल्ली र मुम्बईस्थित कार्यालय बन्द गर्दै कर्मचारीहरुलाई घरबाटै काम गर्न निर्देशन दिएको ब्लुमबर्गले रिपोर्ट गरेको छ । यता, भारतको टेक हब मानिएको बेंगलुरुमा रहेको कार्यालय भने सञ्चालनमा राख्ने भएको छ ।
ट्विटरमा अधिकांश इन्जिनियरहरु बेंगलुरु कार्यलयमा कार्यरत रहेका छन् । यसअघि, ट्विटरले भारतस्थित कार्यालयमा कार्यरत करिब २०० कर्मचारीमध्ये ९०% कर्मचारी कटौती गरेको थियो ।
कम्पनीको लागत घटाउने र संघर्षरत सामाजिक सञ्जाललाई पुनः लयमा फर्काउने प्रमुख कार्यकारी अधिकृत (सीइओ) इलन मस्कको मिसनअनुरुप भारतस्थित कार्यलय बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अर्बपति सीइओ मस्कले २०२३ को अन्त्यसम्ममा ट्विटरलाई आर्थिक रूपमा स्थिर बनाउने प्रयासको रुपमा कर्मचारीहरु कटौती गरेका छन् भने विश्वभर रहेका विभिन्न कार्यालयहरु पनि बन्द गरेका छन् ।