आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्त : २ अर्ब ८७ करोडले घट्यो नाफा |
काठमाडौँ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्त वित्तीय संस्थाहरूको नाफामा तीव्र गिरावट आएको छ । नेप्सेमा सूचीकृत ५८ वटा लघुवित्त कम्पनीहरूले आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा ४४.८२५ प्रतिशतले नाफा गुमाउँदै जम्मा ३ अर्ब ५४ करोड ३८ लाख ७७ हजार रुपैयाँ मात्र नाफा कमाउन सफल भएका हुन् ।
जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त कम्पनीहरूले ६ अर्ब ४२ करोड २१ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । तुलनात्मक रूपमा समीक्षा अवधिमा लघुवित्तहरूले २ अर्ब ८७ करोड ८३ लाख ९ हजार रुपैयाँ नाफा गुमाउन पुगेका छन् । उसो त यस पटक लघुवित्तहरूको खराब कर्जा (एनपीएल दर) उच्च दरमा वृद्धि हुँदा यसको असर खुद नाफामा परेको देखिन्छ । लघुवित्त वित्तीय कम्पनीहले खराब कर्जाको व्यवस्थापनका लागि नाफालाई प्रोभिजन गर्दा नाफा घट्न पुगेको हो ।
पछिल्लो समय मुलुकमा व्याप्त आर्थिक मन्दी, उपभोग्य बजारको शिथिलता र तरलता अभावका कारण ऋणीहरूले कर्जाको सावाँ, ब्याज चलाउन नसक्दा यसको मार बैंक तथा वित्तीय संस्थाहरूले समेत भोग्दै आएका छन् । अझ बढी लघुवित्त वित्तीय संस्थाहरू विरुद्ध ऋणीहरू नै सडकमा उत्रिने अवस्था बनेको छ । यसले गर्दा लघुवित्तको खराब कर्जाको दर उच्च हुन पुगेको हो ।
नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ख, ग र घ वर्गका वित्तीय कम्पनीहरूको खराब कर्जा (एनपीएल) दर ५.७९ प्रतिशत पुगेको छ । जुन उच्च जोखिम हो । तथापि, समीक्षा अवधिमा अधिकांश वित्त कम्पनीहरूको चुक्ता पुँजीमा वृद्धि भएको छ भने रिजर्भ कोषमा झिनो सुधार भएको छ ।
लघुवित्तहरूले उपलब्ध गराएको वित्तीय रिपोर्टअनुसार ५८ वटा लघुवित्तको चुक्ता पुँजी ३० अर्ब ६३ करोड रुपैयाँ हाराहारी पुगेको छ भने रिजर्भ कोषमा २४ अर्ब रुपैयाँ बराबर पुगेको छ । चुक्ता पुँजी, रिजर्भ कोष, खुद ब्याज आम्दानी र खुद नाफामा छिमेक लघुवित्त सबैभन्दा अब्बल देखिएको छ । प्रतिसेयर आम्दानीमा भने नेष्डो समृद्ध लघुवित्त शीर्ष स्थानमा रहेको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा छिमेक लघुवित्तको चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ रहेको छ भने नेष्डो समृद्ध लघुवित्तको १ अर्ब ७२ करोड १२ लाख ५ हजार रुपैयाँ रहेको छ ।