आर्थिक वृद्धि न्यून भए पनि सन् २०२३ मा मुद्रास्फीतिबाट राहत मिल्ने आईएमएफको भनाई |
काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस हप्ताको आफ्नो नयाँ ग्लोबल इकोनोमिक आउटलुक रिपोर्टमा सन् २०२३ मा न्यून आर्थिक वृद्धिकाबीच विश्वव्यापी मुद्रास्फीतिमा कमी आउने प्रक्षेपण गरेको छ।
रुस–युक्रेन युद्ध र मुद्रास्फीति नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदर बढाएका छन्। यद्यपि, चीनको पुनः खोल्ने र कोभिड–१९ महामारीसँग सम्बन्धित लकडाउन प्रतिबन्धहरू खुकुलो पार्दा विश्वव्यापी आर्थिक वृद्धि हुन सक्छ।
कडा मौद्रिक नीति
आईएमएफको प्रतिवेदनमा भनिएको छ कि अधिकांश अर्थतन्त्रहरूमा कस्ट अफ लिभिङ्ग क्राइसेसका बीच, निरन्तर मुद्रास्फीति घटाउने प्राथमिकता बनेको छ। प्रतिवेदनका अनुसार, कडा मौद्रिक अवस्था र न्यून वृद्धिले वित्त र ऋणको स्थिरतालाई सम्भावित असर पार्ने भएकाले म्याक्रोप्रुडेन्सियल उपकरणहरू प्रयोग गर्न र ऋणको पुनर्संरचना ढाँचालाई सुदृढ गर्न आवश्यक छ।
अमेरिका र युरोपमा उच्च मुद्रास्फीति
आईएमएफले युक्रेनमा रुसको आक्रमण, कोभिड–१९ बाट उत्पन्न चुनौती र अन्य भूराजनीतिक मुद्दाले मूल्य दबाब उच्च रहेको बताएको छ। यो दबाब अधिकतर ऊर्जा उत्पादन र खाद्य उत्पादनहरूमा देखिन्छ। विश्वव्यापी मुद्रास्फीति विश्वका धेरै भागहरूमा फरक तरिकाले हेरिएको छ। जहाँ मुद्रास्फीतिको आँकडा अमेरिका र युरोपमा बढी देखिएको छ भने अर्कोतर्फ एशियाका धेरै भागमा यो कम छ।
विश्वको आर्थिक वृद्धिदर कस्तो होला?
आईएमएफको नयाँ ग्लोबल इकोनोमिक आउटलुक अपडेट अनुसार, विश्वव्यापी आर्थिक वृद्धि गत वर्ष अनुमानित ३.४ प्रतिशतबाट यस वर्ष २.९ प्रतिशतमा घटेर अर्को वर्ष ३.१ प्रतिशतमा पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, प्रक्षेपण गरिएको वृद्धि अझै 'सबपार' छ, समग्र चित्र अघिल्लो पूर्वानुमान भन्दा थोरै सुधार भएको छ। २०२३ को लागि हालको प्रक्षेपण अक्टोबर २०२२ वल्र्ड इकोनोमिक आउटलुकमा अनुमान गरिएको भन्दा ०.२ प्रतिशत विन्दु बढी छ। तर, यो खुसीको कुरा होइन किनभने २००० र २०१९ बीचको ऐतिहासिक विश्वव्यापी दर ३.८ प्रतिशत थियो।
(अनुवादित)