विद्युत प्राधिकरणले २० ठाँउमा ‘चार्जिङ स्टेशन’ स्थापना गर्दै |
काठमाडौं । विद्युत प्राधिकरणले २० स्थानमा ‘चार्जिङ स्टेशन’ स्थापना गर्ने भएको छ । अहिले काठमाडौं उपत्यकामा प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क, ट्रेड टावर थापाथली र राष्ट्रिय योजना आयोग सिंहदरबारमा मात्रै ‘चार्जिङ स्टेशन’ छ ।
अहिले सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गरेको छ । राष्ट्रपतिदेखि सर्वसाधारणसम्म विद्युतीय सवारी साधनमा आकर्षित भएका छन् । तर, ‘चार्जिङ स्टेशन’को अभावको कारण भएका सवारीहरु पनि थन्किएर वसेका छन् । यही समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणले २० स्थानमा ‘चार्जिङ स्टेशन’ स्थापना गर्ने तयारी गरेको हो ।
प्राधिकरणले आफ्नै स्थानीय कार्यालयको जग्गामा ‘स्टेशन’ राख्ने योजनामा वनाएको छ । त्यहाँ एक पटकमा १० वटा सवारी साधन ‘चार्ज’ गर्न मिल्ने पूर्वाधार बन्ने भएको छ । एक⁄डेढ घण्टामा चार्ज हुने सवारी साधनले अधिकतम् ४ सय किलोमिटर दूरी तय गर्ने छन् । प्राधिकरणका अनुसार २० वटा स्टेशनले करीब २ मेगावाट विद्युत् खपत गर्ने छ ।
३ नम्बर प्रदेश सरकारले १० वर्षभित्र इन्धनबाट सञ्चालन हुने सवारी साधन विस्थापित गर्ने नीति तथा कार्यक्रम ल्याएको थियो । हाल ३ नम्बर प्रदेश सरकारले मुग्लिन, हेटौंडा, त्रिभुवन राजपथ र पूर्व(पश्चिम राजमार्गमा विभिन्न स्थानमा ‘चार्जिङ स्टेशन’ स्थापनाको तयारी गरिरहेको छ । ३ नम्बर प्रदेश सरकारले ४० र काठमाडौं महानगरपालिकाले १० करोड खर्चिएर विद्युतीय सवारी साधन भित्र्याउँदै छन् ।