युनिलिभर नेपालको खुद नाफा ७७.४२% ले बढ्यो |
काठमाडौँ । युनिलिभर नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ७७.४२% धेरै हो ।
गत वर्ष यसै अवधिमा कम्पनीले ३१ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले यस अवधिमा सञ्चालन आम्दानी र अन्य आम्दानी दुवै वृद्धि गरेपछि खुद नाफामा आकर्षक सुधार भएको हो । यसले सञ्चालन आम्दानी ३१.८५% ले वृद्धि गरेर २ अर्ब २० करोड २५ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, अन्य आम्दानी पनि ३९.८८% ले बढेर ४ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा ३२.७३% वृद्धि हुँदै ३ अर्ब ३३ करोड ४५ लाख रुपैयाँ जम्मा भएको छ । गत वर्ष यसै अवधिमा रिटेन्ड अर्निङ २ अर्ब ५१ करोड २३ लाख रुपैयाँ रहेको थियो । यता, खुद नाफा बढेपछि कम्पनीको प्रतिसेयर आम्दानी पनि १ हजार २६७ रुपैयाँबाट बढेर १ हजार ९८६ रुपैयाँ (वार्षिक) पुगेको छ ।
प्रतिसेयर नेटवर्थ पनि २ हजार ७९२ रुपैयाँबाट बढेर ३ हजार ७२२ रुपैयाँ कायम भएको छ ।