प्रतिबन्ध लागेसँगै भारुको तस्करी बढ्यो | ५ लाख ६२ हजार भारुसहित एक भारतीय पक्राउ
पर्सा । सरकारले २ सय, ५ सय र १ हजार दरका भारतीय नोटमाथि प्रतिबन्ध लगाएसँगै नेपालबाट ठूलो परिमाणमा ती दरका नोट भारत लैजान थालिएको छ । प्रहरीले भारुसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको घटनाले त्यो कुराको पुष्टि गरेको छ ।
पर्सा प्रहरीले एक भारतीय नागरिकसहित ५ लाख ६२ हजार भारुसहित नियन्त्रणमा लिएको छ । प्रहरीले कपडाको थैलीमा ५ सयको ११ सय २४ थान गडिसहित ५ लाख ६२ हजार भारु वीरगंजबाट रक्सौलतर्फ लाँदै गरेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालेको छ ।
पक्राउ पर्नेमा बिहार पूर्वी चम्पारणका ओमप्रकाश साह रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार नेपालमा ठूला दरका भारुमा प्रतिबन्ध लागेपछि थन्किएर बसेका भारु भारततर्फ लैजाने क्रम बढेको हो । केही दिनअघि पनि वीरगंजबाट १ लाख ७० हजार भारुसहित एक भारतीय नागरिक पक्राउ परेका थिए ।
विशेष गरी नेपाल–भारत सीमाक्षेत्रका व्यापारीहरूले त्यस्ता नोट ठूलो परिमाणमा थन्क्याएर राखिएको अनुमान गरिएको छ । अहिले सरकारको उक्त घोषणासँगै ती थन्किएका नोटहरू अवैध तरिकाले भारत सप्लाइ हुन थालेको प्रहरीको अनुमान छ ।