शुरु भयो सुचना प्रबिधिको महा मेला ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०७९’ |
काठमाडौं । केही वर्षयता नेपालमा इन्फरमेशन एण्ड टेक्नोलोजी (आईटी) प्रयोगकर्ताको सङ्ख्या बढेको छ । समयसमयमा भइरहने सूचनाप्रविधि मेला, टेलिकम्युनिकशनको पहुँच र बजारमा नयाँभन्दा नयाँ सामानको सहजै उपलब्धताका कारण पनि यसको प्रयोग गर्ने मानिसको सङ्ख्या बढेको हो । सोहि कारण अहिले देशभर नै वर्षेनी सूचनाप्रविधि सम्बन्धि मेला आयोजना हुन थालेको छ । नेपालमा सुचना प्रबिधि सम्बन्धि मेलाको शुरुवात भने सन् १९९५ बाट तत्कालिन कम्युटर एशोशियशन अफ नेपाल( हाल क्यान महासङ्घ) ले गरेको हो । नेपालमा सूचनाप्रविधिको क्षेत्रमा भएको विकास र यसको प्रयोगबारे जानकारी दिने उद्देश्यले क्यानले प्रत्यक बर्ष क्यान इन्फोटेक आयोजना गर्दै आएको छ ।
यसैको निरन्तरता स्वरुप सुचना प्रबिधिको सबैभन्दा ठुलो मेला मंगलवारदेखि काठमाडौको भृकुटी मण्डपमा शुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आयोजना गरेको मेलाको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी हुन् ।
सन् २०२२ मा इन्फोटेकको २७औं संस्करण सफलतापूर्वक सम्पन्न भएको थियो । नेपालमा सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरुपमा आयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुककै ठूलो प्रदर्शनीका रुपमा स्थापित भएको छ । क्यान इन्फोटेकको अवलोकनका लागि सर्वासाधारणलाई रु. १०० र विद्यार्थीलाई रु. ५० शुल्क निर्धारण गरिएको छ । इन्फोटेकको टिकेटिङ पार्टनर पेवेलको मोबाइल एप डाउनलोड गरी एपबाटै रु. २५ मा टिकेट खरिद गर्न सकिने व्यवस्था ल्याइएको छ ।
सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।
साथै क्यान इन्फोटेककै दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुनेछ । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा छ ।
प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिइएको छ ।
राजधानीमा माघ २४ देखि ६ दिनसम्म देशकै ठूलो सूचना प्रविधि प्रदर्शनीको समापन भएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुने भएको छ । यसअन्तर्गत मधेश प्रदेशमा फागुन ५ देखि फागुन ९ गतेसम्म, सुदूरपश्चिम प्रदेशमा फागुन १३ देखि फागुन १७ गतेसम्म, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३० गतेसम्म र बागमती प्रदेशमा चैत २ देखि चैत ६ गतेसम्म क्यान इन्फोटेक हुनेछ। प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै नै क्यान इन्फोटेकको आयोजना मिति घोषणा हुनेछ ।
सफ्टवेयरको विकासका लागि पहल
सफ्टवेयर निर्माणमा संसारले केकस्ता उपलब्धि हासिल गरेको छ ? यसमा नेपाल कुन अवस्थामा छ र यो क्षेत्रमा नेपालले केकस्ता उपलब्धि हासिल गरेको छ ? यस्ता प्रश्नको उत्तर खोज्न चाहनुहुन्छ ? यिनै यावत् प्रश्नहरूको जवाफ खोज्ने उद्देश्यका ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०७९’ आजबाट राजधानीमा शुरू भएको छ ।
आजको युग सूचना तथा सञ्चार प्रविधिको हो । संसारका ठूला उद्योगहरूको स्थान आज सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित उद्योगले कब्जा गरिसकेका छन् । यस्तो उद्योग संसारभर विस्तार हँुदै गएको छ । सूचना तथा सञ्चार प्रविधिमा पनि सफ्टवेयर निर्माण, विक्री र सेवा एउटा ठूलो उद्योगका रूपमा संसारभर स्थापित भइसकेको छ । संसारका ठूला र सम्पन्न राष्ट्रहरूबीच सफ्टवेयर उत्पादन गर्ने होड नै चलेको छ भन्दा फरक पर्दैन । यो होडमा नेपाल धेरै पछाडि भए पनि यहाँ यसको अभ्यास भने शुरू भइसकेको छ । यस्ता जानकारी प्राप्त गर्न क्यान सफ्टटेक महत्वपूर्ण मञ्च हुन सक्छ ।
सफ्टवेयर, सर्भिसेज र सोलुशनका क्षेत्रमा भइरहेको काम, त्यसबाट हासिल भइरहेको उपलब्धिका बारेमा सबैलाई जानकारी गराउने उद्देश्यले सफ्टटेकको आयोजना गर्दै आएको क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए । संसारभरका प्रमुख सफ्टवेयर उद्योगमा भइरहेका नयाँ आविष्कार, यस क्षेत्रले हासिल गरेका उपलब्धि, यस क्षेत्रमा हामी कुन अवस्थामा छौं र के गरिरहेका छौं भनेर जानकारी दिने एउटा भरपर्दो ‘प्लेटफर्म’ सफ्टटेक रहेको अध्यक्ष पोदारले बताए ।
लगानीविना कुनै पनि क्षेत्रको विकास सम्भव छैन । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा ठूला व्यापारिक घरानाहरूको अत्यन्त कम लगानी रहेको छ ।
नेपालमै तयार पारिएका विभिन्न किसिमका सफ्टवेयर, एण्टिभाइरस, इण्टरनेट तथा इण्टरनेट सेवा, वेबपेज डिजाइनिङ, सफ्टवेयर ट्रेनिङ, एनिमेशनलगायत सेवासहित विभिन्न कम्पनीहरू क्यान सफ्टटेकमा सहभागी हुँदै छन् ।
नेपालमा सन् १९९८ देखि सफ्टवेयर उत्पादन हुन थालेको हो । स्वदेशी कम्पनीहरू ठूलो सङ्ख्यामा रहेको भए पनि आशाअनुसारको विकास गर्न नसकेको सम्बद्ध व्यवसायीको मत छ । अहिले पनि बैङ्क, स्कूल, कलेज, उद्योगमा प्रयोग हुने सफ्टवेयर विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । तर, केही कम्पनीमा भने स्वदेशी सफ्टवेयरकै प्रयोग हुन थालेको छ । नेपाली सफ्टवेयरबारे आवश्यक प्रचार नहुनु र विदेशी सफ्टवेयरप्रतिको आकर्षणका कारण सफ्टवेयर कम्पनीको विकास हुन नसकेको हो ।
धेरैको पहुँचमा हार्डवेयर
सूचना तथा प्रविधिका हार्डवेयरहरू अहिले धेरैको पहुँचमा पुगेका छन् । विश्वबजारमा पछिल्लो समयमा विकास र उत्पादन भएका सामान नेपाली बजारमा पनि सहजै उपलब्ध हुनु र सामानहरू सस्तिएका कारण पनि यसमा धेरैको पहुँच पुगेको सम्बद्ध व्यवसायीहरू बताउँछन् । तर, यी सामानको उत्पादन भने स्वदेशमा हुन सकेको छैन । सम्बद्ध कम्पनीहरूले आवश्यक पाटपुर्जा आयात गरी स्वदेशमा निर्माण गर्नुबाहेक पूर्ण रूपले उत्पादन गर्न सकेका छैनन् । स्वदेशमै यस्ता सामग्री उत्पादनका लागि ठूलो लगानी आवश्यक पर्छ । पछिल्लो समयमा नेपाली बजारमा उपलब्ध सस्ता चिनियाँ सामानले धेरैमा यस्ता सामग्रीको पहुँच पुग्नमा सहयोग गरेको छ । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी हार्डवेयर प्रयोगकर्ताको सङ्ख्या ठूलो भएकाले व्यवसाय सन्तोषजनक रहेको बताउँछन् । तर, यसको प्रयोग र विकासमा भने आवश्यक ज्ञानको कमी रहेको उनले बताए ।
आईटीको विकासमा सूचनाप्रविधि मेला
देशकै सबैभन्दा ठूलो सूचना तथा प्रविधि मेला क्यान इन्फोटेक २०७९ मङ्गलवारदेखि राजधानीमा शुरू भएको छ । नेपालमा सूचनाप्रविधिको क्षेत्रमा भएको विकास र यसको प्रयोगबारे जानकारी दिने उद्देश्यले विगत १६ वर्षदेखि यस्तो मेलाको आयोजना हुँदै आएको छ । मेलाले आईटी क्षेत्रको विकासमा सहयोग पुर्याउने व्यवसायीहरू बताउँछन् ।
सूचनाप्रविधि मेलाले नीतिनिर्माण तहमा समेत सहयोग पुर्याउँदै आएको क्यानको दाबी छ । मेलाले एकातिर आईटी क्षेत्रको विकासमा सहयोग गरेको छ भने अर्कोतर्फ व्यापारवृद्धिमा पनि सहयोग गरेको छ ।