बंगलादेशमा कतार भिसा केन्द्रको स्थापना, नेपालमा आउन नदिन श्रममन्त्रीद्वारा पहल शुरू |
काठमाडौं । बंगलादेशमा हालै कतार भिसा केन्द्र (क्यूभीसी) सञ्चालनमा आएको छ । उक्त सेण्टरको बंगलादेशका लागि कतारका राजदूत अहमद मोहम्मद अल–देहामिमी र बंगलादेशका वैदेशिक रोजगारमन्त्री नुरुल इस्लाम वियसिसीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । भिसा सेण्टरमा वायोमेट्रिक डाटा भर्न सकिने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीलाई लक्षित गर्दै यो सेण्टर सञ्चालनमा ल्याइएको हो ।
सिंगापुरस्थित मुख्यालय रहेको भिसा प्रणाली र वायोमेट्रिकको एस्किउ लिमिटेडलाई साझेदार बनाइएको छ । कतारको गृह मन्त्रालयसँग भएको सम्झौताअनुसार निकट भविष्यमा इण्डोनेशिया, फिलिपिन्स, भारत, नेपाल, पाकिस्तान र टुयुनिसियालगायत देशमा कतार भिसा केन्द्र स्थापना गर्ने योजना रहेको विज्ञप्तिमा उल्लेख छ । नेपालका लागि भने श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले उक्त भिसा सेण्टरलाई रोक्न कूटनीतिक पहल शुरू गरिसकेका छन् ।
मलेशियाजस्तै कतार जाने कामदारबाट पनि स्वास्थ्य परीक्षण र भिसा प्रक्रियाका नाममा सिण्डिकेट खडा गर्न खोजिएको भन्दै मन्त्री विष्टले त्यस्तो प्रणालीलाई रोक्न पहल गरेका हुन् ।