नेपाल टेलिकमले सुरु गर्यो ‘फाइभजी’ परीक्षण |
काठमाडौं । नेपाल टेलिकमले ‘फाइभजी’ सेवाको परीक्षण (ट्रायल टेस्टिङ) आइतबारबाट सुरु गरेको छ । काठमाडौंको बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयबाट परीक्षण सुरु गरिएको कम्पनीले जनाएको छ । फाइभजी कम्प्याटिबल अर्थात् फाइभजी सुविधा भएका मोबाइल डिभाइस प्रयोगकर्ताले परीक्षण अवधिभर उल्लेखित दुई ठाउँमा फाइभजी चलाउन सक्ने कम्पनीले जनाएको छ ।
दूरसञ्चार क्षेत्रको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणले २०७८ साउनमा 'फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गरी सरकारी स्वामित्वको नेपाल टेलिकमलाई फाइभजी परीक्षणका लागि अनुमति दिएको थियो । गत आर्थिक वर्ष २०७८/७९ मै परीक्षण गर्ने टेलिकमले जनाएको भएता पनि अहिलेसम्म परीक्षण हुन सकेको थिएन । यसपटक भने कम्पनीको १९औं वार्षिकोत्सवका अवसरमा आइतबार फाइभजीको ट्रायल टेस्टिङ सुरु गरिएको हो ।
केही समयपछि पोखरा, वीरगन्जलगायत अन्य स्थानमा पनि परीक्षण गर्दै जाने कम्पनीले जानकारी दिएको छ । दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणका लागि २६०० मेगाहर्ज ब्यान्डअन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ ।