सिटिजन्स बैंकको कामु कार्यकारी प्रमुखमा पोखरेल | सेवा निवृत्त सीईओ भण्डारी प्रमुख सल्लाहकारमा नियुक्त
काठमाडौं । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त भएका छन् । मंसिर २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई सो पदमा बढुवा गरेको हो । यसअघि उनी सोही बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी सम्हालिरहेका थिए ।
पोखरेललाई आज पुस १ गतेदेखि लागू हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।
यसअघि प्रमुख कार्यकारी अधिकृत रहेका राजनसिंह भण्डारीको कार्यकाल पुस १६ गते समाप्त हुने, साथै पुस १ गतेबाट उनी बिदामा बसेकाले अर्को व्यवस्था नभएसम्मका लागि पोखरेललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको बैंकले जानकारी दिएको छ ।
साथै, बैंकले सेवानिवृत्त प्रमुख कार्यकारी अधिकृत भण्डारीलाई पुस १७ गतेबाटै लागू हुने गरी बैंकको सञ्चालक समितिको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको बताएको छ ।