कामपाका मुख्यमुख्य स्थानमा आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू | जबरजस्ती गरे महानगरले कारबाही गर्ने, कहाँ कहाँ लागू भो ? हेर्नुस्
काठमाडौं । आजदेखि काठमाडौंका मुख्यमुख्य स्थानमा सार्वजनिक सवारी साधनले ‘पिक एण्ड ड्रप’ मात्रै गर्न पाउने भएका छन् । सार्वजनिक सवारीसाधन एकै स्थानमा लामो समय रोकेर राख्दा जामको समस्या बढ्नुका साथै वातावरण पनि प्रदूषण भएको जनाउँदै काठमाडौं महानगरपालिकाले आजदेखि त्यस्तो नियम लागू गरेको हो ।
महानगरपालिकाले पहिलो चरणमा काठमाडौंको टुँडिखेलआसपास क्षेत्रमा मात्र आजदेखि त्यस्तो नियम लागू गरेको बताएको छ । महानगरपालिकाका अनुसार अब विस्तारै काठमाडौंका सबैजसो बस स्टपहरूमा यो नियम लागू गरिनेछ ।
काठमाडौं उपत्यकाका मुख्य स्थान मानिने र लामो वा छोटो दूरीका सार्वजनिक सवारीसाधन रोकेर राख्ने स्थान भनेकै टुँडिखेल आसपास रहेकाले पहिलो चरणमा यिनै क्षेत्रमा सवारी साधन रोकेर राख्न नपाउने नियम लागू गरिएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा यी स्थानमा यस्तो व्यवस्था प्रभावकारी बनाउने र केही महीनाभित्र कामपाको ३२ वटै वडामा उक्त व्यवस्था लागू हुनेछ ।
आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू भएका क्षेत्रमा कुनै पनि सवारीसाधनले पहिलेजस्तो लामो समय रोकेर राख्ने र अर्को सवारी साधन नआउञ्जेलसम्मका लागि भन्दै अटेर गरे कारबाहीको प्रक्रियामा ल्याइने महानगरपालिकाले बताएको छ ।
टुँडिखेललाई केन्द्र बनाउँदा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट भद्रकालीसम्मको सडकमा सबैभन्दा बढी समस्या देखिएको थियो । यस ठाउँबाट विभिन्न रुट भएर विभिन्न ठाउँमा विभिन्न कम्पनीका सवारीसाधन चल्छन् ।
कहाँकहाँ लागू गरियो ‘पिक एण्ड ड्रप’ व्यवस्था ?
पहिलो चरणमा विभिन्न ११ वटा रुटमा ‘पिक एण्ड ड्रप’ कार्यक्रम लागू हुनेछ । एक सवारीसाधनले एक स्थानबाट मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् ।
तोकिएको ‘स्टप’ बाहेक अन्य स्थानमा यात्रु ओराले वा चढाउने गरेमा कानूनअनुसार कारबाही हुने महानगरपालिकाले जानकारी दिएको छ ।
यस अभियानले सफलता पाएमा उपत्यकाको सबै सडकमा यो नियम लागू गरिने सरकारको तयारी छ । टुँडिखेलबाट सिंहदरबार हुँदै बानेश्वर जाने सवारीसाधनले राष्ट्रिय सभागृहको दायाँ बायाँको भृकुटीमण्डपको स्टप र माइतीघरबाट बबरमहलको बीचमा मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् ।
टुँडिखेलबाट सिंहदरबार हुँदै ललितपुरतर्फ जाने सवारीसाधनले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटीमण्डपको स्टप र थापाथलीस्थित खाद्य संस्थानअघि मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् ।
टुँडिखेलबाट त्रिपुरेश्वर हुँदै कालीमाटीतर्फ जाने सवारीसाधनले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटी मण्डपको स्टप र त्रिपुरेश्वर स्टप, टुँडिखेलबाट लैनचौर हुँदै नयाँबजारतर्फ जाने सवारीसाधनले नेपाल वायु सेवा निगम अगाडि र लैनचौरस्थित दूग्ध विकास संस्थान अगाडि मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् । यस्तै टुँडिखेलबाट लैनचौर हुँदै महाराजगञ्ज र धोबिचौर जाने सवारी साधनले नेपाल वायुसेवा निगम अगाडि र लैनचौरस्थित खानी तथा भूगर्भ विभाग अगाडि मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् ।
टुँडिखेलबाट विश्वज्योति, घण्टाघर, कमलपोखरी, नागपोखरी जाने सवारीसाधनले नेपाल वायुसेवा निगम र रत्नपार्क तथा टुँडिखेलभन्दा बाहिर जाने सवारीसाधनले रत्नपार्क अगाडि र टुँडिखेलभन्दा बाहिरको स्टपमा मात्र यात्र ओराल्न र चढाउन पाउनेछन् ।
पुरानो बसपार्कभित्र यात्रु चढाउने र ओराल्ने सवारीसाधनका लागि पुरानो बसपार्कभित्रको स्टप र टुँडिखेल वरिपरिभन्दा बाहिर रहेको स्टप तथा लामो दूरीका ठूला यात्रुबस एकतर्फ भृकुटीमण्डप र फर्कंदा नेपाल वायु सेवा निगम हुँदै चल्ने सवारीसाधनले एकतर्फ वायुसेवा निगम अगाडि र अर्कोतर्फ भृकुटीमण्डपबाट यात्रु ओराल्ने र चढाउनुपर्नेछ ।
यस्तै दोस्रो स्टपका लागि टुँडिखेलवरिपरिभन्दा बाहिर रहेको स्टपबाट मात्र यात्रु ओराल्ने र चढाउनुपर्नेछ । वायुसेवा निगम अगाडि स्टप बनाई विभिन्न स्थानमा जाने सफा टेम्पोले निगमअगाडिको स्टप र अन्य सवारीसाधनले प्रयोग गर्ने स्टप तथा बागबजारस्थित भक्तपुर बसपार्कबाट यात्रु लिई आउने सवारीसाधनले सोही ठाउँ र माइतीघर र बबरमहलको बीचबाट यात्रु ओराल्न र चढाउन पानेछन् ।
कामपाका प्रमुख शाक्यले उपत्यकाको सडक जति नै फराकिलो बनाए पनि जामको समस्या झन् जटिल बन्दै गएको भन्दै पहिलो चरणमा ११ वटा रुटमा चल्ने सवारीसाधनलाई यो नियम लागू गरिए पनि केही महिनाभित्रै अन्य रुटमा पनि लागू गरिने बताए ।