उदयपुर सिमेन्टले थाल्यो पूर्ण क्षमतामा उत्पादन |
गाईघाट । पूर्ण सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले पहिलो पटक पूर्णक्षमतामा सिमेन्ट उत्पादन कार्य शुरु गरेको छ । उद्योग स्थापना भएपछि पहिलो पटक पूर्ण क्षमतामा उत्पादन हुन सकेको बताइएको छ ।
प्रतिदिन आठ सय मेट्रिकटन (चालीस हजार बोरा) सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता रहेको उद्योगले एक हप्तादेखि पूर्ण क्षमतामा सिमेन्ट उत्पादन कार्य शुरु गरेर नयाँ रेकर्ड कायम गरेको उद्योग प्रशासनले बताएको छ ।
उदयपुर जिल्लाको जलजलेमा २८ वर्षअघि जापान सरकारको सहयोगमा स्थापना भएको सो उद्योगले स्थापना कालदेखि प्रतिदिन पाँचसय पचास देखि छ सय मेट्रिकटनसम्म मात्र सिमेन्ट उत्पादन गर्दै आएको थियो ।
लोडसेडिङ तथा प्राविधिक समस्याका कारण सोचे जस्तो सिमेन्ट उत्पादन हुन नसके पनि गत वर्षदेखि केही समस्या समाधान गरेर उद्योगले ७०० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन शुरु गरेको उद्योगले जानककारी दिएको छ ।
विस्तारै उद्योगमा विद्युतदेखि प्राविधिक कुरामा सुधार हुँदै गएपछि केही दिन अघिसम्म उद्योगले ७६० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता बनाएको थियो । एक हप्ता यता उद्योगमा पूर्ण क्षमतामा ८०० मेट्रि«कटन सिमेन्ट उत्पादन कार्य शुरु भएको उद्योग प्रशासनले जानकारी दिएकको छ ।
दुई वर्ष अघिसम्म घाटामा रहेको उदयपुर सिमेन्ट उद्योगले एक वर्षदेखि वार्षिक ३५ करोड रुपैयाँ आम्दानी गर्न थालेको पनि उद्योग प्रशासनले बताएको छ । अब निरन्तर पूर्ण क्षमतामा सिमेन्ट उत्पादन हुने हो भने उद्योगले बार्षिक अर्बौं रुपैयाँ आम्दानी गर्ने पनि बताइएको छ ।