मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बिक्री खुला | वैदेशिक रोजगारीमा गएकाले पनि भर्न सक्ने
काठमाडौंँ । मकर जितुमाया सुरी हाइड्रोपावरले आज (माघ १५ गते) देखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजी ७६ करोड रुपैयाँको १०% अर्थात ७ करोड ६० लाख रुपैयाँ बराबरको ७ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये अति प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका वडा नं. ५ र ६ का स्थानीयका लागि ३ लाख ४ हजार कित्ता सेयर छुट्याइएको छ ।
साथै, प्रभावित क्षेत्र गौरीशंकर गाँउपालिका वडा नं. १, २, ३, ४, ७, ८ र ९ का स्थानीयले ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र विगु गाँउपालिकाका सम्पूर्ण वडाका स्थानीयले १ लाख १४ हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन् । यता, सर्वसाधारणमा निष्कासन हुने १५ लाख २० हजार कित्ता सेयरमध्ये १०% अर्थात १ लाख ५२ हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा माघ २९ गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा फागुन १५ गतेसम्म आवेदन दिन पाउनेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने माघ २९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।
क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । स्थानीयले प्रभु बैंक, लक्ष्मी बैंक र सेन्चुरी बैंकको शाखा र आयोजना स्थलबाट पनि आवेदन दिन सक्नेछन् । यस्तै, बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौं र यसको अनलाइन व्यवस्था बाट पनि आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
मकर जितुमायाले दोलाखाको गौरिशंकर गाउँपालिकामा ६.४ मेगावाट क्षमताको सुरी खोला जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरिसकेको छ भने ७ मेगावाट क्षमताको माथिल्लो सुरी खोला जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ । सुरी खोलाको हालको लागत १ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ रहेको छ । यता, माथिल्लो सुरी खोलाको कुल अनुमानित लागत भने १ अर्ब २९ करोड ५० लाख रुपैयाँ रहेको छ ।