आन्दोलनरत लगानीकर्तालाई सरकारले छलफलमा बोलायो | पाँच जना लगानीकर्ता वार्तामा सहभागी
काठमाडौं । पूँजी बजार सुधारका लागि भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कार्यालय अगाडि रिले अनशनमा बसेका लगानीकर्तालाई सरकारले बार्तामा बोलाएको छ । पूँजी बजारको विकास र विस्तारको लागि विभन्न मागहरु राख्दै गत मंसिर २३ गतेदेखि रिले अनशनमा बसेका लगानीकर्ताको दबाब समूहले पुष १ गतेबाट आमरण अनशन थाल्ने चेतावनी दिएपछि सरकारले छलफलमा बोलाएको हो ।
शेयर लगानीकर्ता दबाब समूहले शुरु गरेको रिले अनशन छैटौं दिन पुग्दा समेत सरकार तथा सरोकारवाला निकायबाट कुनै सुनुवाई नभएपछि पुस १ गते आईतबारदेखि आमरण अनशन गर्ने घोषणा गरेको थियो ।
शुक्रबार आन्दोलनरत लगानीकर्तालाई वार्तामा बोलाइएको अर्थमन्त्रालयले जानकारी दिएको छ । उच्चस्तरीय समितिले अध्ययन प्रतिवेदनलाई अन्तिम रुपम दिनु अगाडि नेप्सेको गेटमा धर्नामा बसेका लगानीकर्ताहरुको सुझाब लिनका लागि छलफलमा डाकेको बुझिएको छ । अहिले वार्ता चलिरहेको बताइएको छ ।