व्यापारको अनौपचारिक हिस्सा आधाभन्दा बढी ː अर्थमन्त्री |
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले अन्तरराष्ट्रिय ब्यापारमा अनौपचारिक हिस्सा आधा भन्दा बढी रहेको सुन्नमा आएको बताएका छन् । त्यसैले अन्तरराष्ट्रिय व्यापारको अनौपचारिक हिस्साको पनि अध्ययन हुनुपर्ने उनको भनाई थियो । यस्तो ब्यापारको आकार पनि ठूलो रहेको भन्दै उनले दक्षिण एसियाको हकमा यो झन महत्वपूर्ण रहेको बताए ।
विश्व बैंक र साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाएरोमेन्टले तयार गरेको ʽए ग्लास हाल्फ फुल’ प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री खतिवडाले विभिन्न समस्याका कारण नेपालले वैदेशिक ब्यापरमा सशक्त उपस्थिति जनाउन नसेकको उल्लेख गरे । उनले दक्षिण एसियाको ८० प्रतिशत ब्यापार हिस्सा एउटै मुलुकसँग रहेको भन्दै उनले द्विपक्षीय ब्यापार कठिन बनेको बताए ।
मन्त्री खतिवडाले पुँजी निर्माणका लागि आयात गर्नुपर्ने भएकाले नेपाल जस्तो देशमा भइरहेको व्यापार घाटालाई नकारात्मक रुपमा नलिन पनि अन्तरराष्ट्रिय दातृ निकायहरुलाई आग्रह गरे । उनले उत्पादन र अर्थतन्त्रमा गुणात्मक वृद्धि गर्ने बस्तुको आयातबाट आत्तिन नहुने पनि स्मरण गराएका छन् ।
शुक्रबार सार्वजनिक भएको रिेपोर्टमा सार्क क्षेत्रमा मानवीय कारणबाट उत्पन्न भन्सार अवरोधका कारण ७७ बिलियन डलरमा हुन सक्ने ब्यापार २३ बिलियन डलरमा खुम्चिएको उल्लेख छ । सार्क राष्ट्रबीचको ब्यापार पुरै एसियाको ५ प्रतिशत मात्रै रहेको रिपोर्टले जनाएको छ । यसमा झण्डै ८० प्रतिशत हिस्सा भारतले नै ओगट्छ ।