चौध बैंकको नाफा बढ्दा ६ वटाको घट्यो, खुद नाफामा नबिल र एनआइसी एसियाको प्रतिस्पर्धा |
काठमाडौँ । हालसम्म २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । दोस्रो धेरै नाफा कमाउनेमा एनआइसी एसिया बैंक रहेको छ । यी दुई बैंकबीच नाफा कसले धेरै कामाउने भन्ने होडबोजी जस्तै चलेको देखिन्छ । गत वर्षको यसैअवधिमा एनआइसी एसिया बैंकले नबिल बैंकको भन्दा धेरै नाफा कमाएको थियो । हेरौं कुन बैंकको वित्तीय अवस्था कस्तो छ ?
यी हुन्, खराब कर्जा बढेका पाँच बैंक
वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुमध्ये पाँच बैंकहरुको खराब कर्जा धेरै बढेको वित्तीय विवरणले देखाएको छ । यस अवधिमा सबैभन्दा बढी सनराइज, सिद्धार्थ, नेपाल बैंक, कृषि विकास बैंक र सिभिल बैंकको खराब कर्जा बढेको हो ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १.४१ प्रतिशत मात्र खराब कर्जा रहेको सनराइज बैंकको खराब कर्जा चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा ३.३६ प्रतिशत पुगेको छ । त्यस्तै, यस अवधिमा सिद्धार्थ बैंकको खराब कर्जा २.८७ प्रतिशत पुगेको छ । जबकि गत आवको सोही अवधिमा यो बैंकको खराब कर्जा ०.३७ प्रतिशत मात्र रहेको थियो ।
सार्वजनिक भएको वित्तीय विवरण अनुसार यस अवधिमा नेपाल बैंकको खराब कर्जा बढेर ३.११ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिसम्म बैंकको खराब कर्जा १.९१ प्रतिशत रहेको थियो । त्यसै गरी, कृषि विकास बैंकको पनि खराब कर्जामा वृद्धि भएको छ । गत आवको सोही अवधिमा २.०८ प्रतिशत रहेको सो बैंकको खराब कर्जा चाल आवको दोस्रो त्रैमाससम्म ४.५२ प्रतिशत पुगेको छ ।
यसबिच सिभिल बैंकको खराब कर्जा पनि बढेको देखिएको छ। गत आवको सोही अवधिमा ०.९४ प्रतिशत रहेको सो बैंकको खराब कर्जा चालु आवको दोस्रो त्रैमाससम्म २.४१ प्रतिशत पुगेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको भने घट्यो खराब कर्जा
उक्त हालै सार्वजनिक वित्तीय विवरण अनुसार यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा भने घटेको छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा ३.०६ प्रतिशत रहेको थियो । चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा उक्त बैंकको खराब कर्जा घटेर २.७९ प्रतिशतमा झरेको छ ।
खराब कर्जा बढ्दा बैंकको नाफा घट्यो
बैंकहरुमा रहेको खराब कर्जाले उनीहरूको नाफामा प्रत्यक्ष प्रभाव पार्ने गर्छ । राष्ट्र बैंक अनुसार खराब कर्जा बराबरीको रकम बैैंकहरुले जोखिम कोषमा राख्नुपर्ने हुन्छ । जसका कारण उनीहरूले मुनाफाका रूपमा देखाउन पर्ने रकम स्वतः घटेर जान्छ ।
त्यसबाहेक खराब कर्जा बढी भएको बैंकलाई त्यसै पनि राम्रो बैंक मानिँदैन । यसरी राम्रो बैंक नमानिनुको कारण नै त्यसले शेयधनीहरुलाई वितरण गर्ने मुनाफामा कमी आउनु हो । लगानीकर्ताहरू मानसिक रूपमा पनि खराब कर्जा बढी भएको बैैंकमा लगानी गर्न तयार हुँदैनन् । जसले गर्दा समग्र बैैंकको वित्तीय स्वस्थ्यतामा पनि खराब कर्जा निकै ठुलो बाधक र घातक मानिन्छ ।
बैंकहरुको चुक्ता पुँजी १४.७२% ले बढ्यो, सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा समग्रमा बैंकहरुको चुक्ता पुँजी १४.७२% ले बढेर ३ खर्ब १० अर्ब ३६ करोड ९८ लाख २८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकहरुको चुक्ता पुँजी २ खर्ब ७० अर्ब ५५ करोड ३१ लाख ६८ हजार रुपैयाँ थियो । यसअवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी ग्लोबल आइएमई बैंकको रहेको छ । यसको पुँजी ५०.३३% ले बढेर ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रुपैयाँ पुगेको छ । ग्लोबाल आइएमई बैंक र अफ काठमाण्डूसँग मर्जरमा गएर यसै वर्षदेखि एकीकृत कारोबार गरेकाले पुँजीमा ठूलो वृद्धि भएको हो ।
बैंकहरुको जगेडा कोष ३३.०९% ले बढ्यो, सबैभन्दा धेरै नबिलको
पुस मसान्तसम्म आइपुग्दा बैंकहरुको जगेडा कोष समग्रमा ३३.०९% ले बढेर १ खर्ब ९५ अर्ब ७ करोड १० लाख १६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकहरुको जगेडा कोषमा १ खर्ब ४६ अर्ब ५६ करोड ९९ लाख ५२ हजार रुपैयाँ थियो । यसअवधिमा सबैभन्दा धेरै जगेडा कोष नबिल बैंकको रहेको छ । यसको जगेडा कोष ७४.८५% ले बढेर २५ अर्ब ५७ करोड ४१ लाख ४० हजार रुपैयाँ पुगेको छ ।
खुद ब्याज आम्दानीमा नबिल बैंक अगाडी
चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै खुद ब्याज आम्दानी नबिल बैंकको रहेको छ । यस बैंकको खुद ब्याज आम्दानी ८५.६३% ले बढेर ७ अर्ब ८३ करोड २९ लाख ५६ हजार रुपैयाँ पुगेको छ । यता, एक वर्षको अवधिमा समग्रमा बैंकहरुको खुद ब्याज आम्दानी ४१.२५% ले बढेर ७९ अर्ब ९ करोड ८४ लाख ७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकहरुले ५५ अर्ब ९९ करोड ७७ लाख ९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए ।
खुद नाफामा नबिल र एनआइसी एसियाको प्रतिस्पर्धा
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यसअवधिमा यसको नाफा ५६.६७% ले बढेर ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ पुगेको छ । यता, दोस्रोमा एनआइसी एसिया बैंक रहेको छ । यसको नाफा ३६.२७% ले बढेर ३ अर्ब २७ करोड ३३ लाख ३० हजार रुपैयाँ पुगेको छ । यता, समग्रमा बैंकहरुको नाफा ११.७५% ले बढेर ३० अर्ब २६ करोड ३८ लाख ७४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकहरुले २७ अर्ब ८ करोड १४ लाख ८७ हजार रुपैयाँ नाफा कमाएका थिए ।
वितरणयोग्य नाफामा एनआइसी एसिया बैंक अघि
पुस मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै वितरणयोग्य नाफा एनआइसी एसिया बैंक रहेको छ । यसको वितरणयोग्य नाफा ३३६.६४% ले बढेर ३ अर्ब ७५ करोड २४ लाख ५५ हजार रुपैयाँ पुगेको छ । यो नै सबैभन्दा धेरै वितरणयोग्य नाफा कमाउने बैंक हो । यसअवधिमा सनराइज र नेपाल बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक छ ।
प्रतिसेयर आम्दानीमा पनि एनआइसी एसिया बैंक अघि
चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी एनआइसी एसिया बैंकको रहेको छ । यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३४ पैसाले बढेर ५६ रुपैयाँ ७७ पैसा पुगेको छ । यो नै सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढ्ने बैंक हो । कृषि विकास बैंकको प्रतिसेयर आम्दानी भने ऋणात्मक छ ।
नोट : भर्खरै मात्रै एकीकृत कारोबार गरेका नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कुमारी बैंकले भने हालसम्म दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।