इसेवा फोनपेको भूक्तानी अब क्युआर कोडबाट हुने |

काठमाडौं । इसेवा फोनपे र युनियन पे इन्टरनेशनल बिच नेपालमा क्युआर कोडमार्फत मोवाइल भूक्तानी प्रणाली संचालन गर्न सम्झौता भएको छ । यो सम्झौतापछि युनियन पेका नेपाली तथा विदेशी ग्राहकले मोवाइलबाट क्युआर कोड प्रयोग गरी नेपालका विभिन्न मर्चेन्टलाई भूक्तानी दिन सक्नेछन् ।
सम्झौतामा युनियन पे इन्टरनेशनल कम्पनी लिमिटेड (युपिआई)का प्रडक्ट डाइरेक्टर सुशान फिलिप गैडान तथा इसेवा फोनपेको प्यारेन्ट कम्पनी एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले हस्ताक्षर गरे ।
क्युआर पेमेन्ट प्रविधि घर्षणरहित मोवाइल भूक्तानी प्रणाली हो । यो सेवा कार्ड पेमेन्ट तथा प्वाइन्ट अफ सेल्स जस्ता पेमेन्ट टर्मिनललाई प्रयोग गरी हुने भूक्तानी प्रणालीको विकल्पमा सस्तो समेत हुन्छ ।
इसेवा फोनपेले रणनीतिक साझेदारी गरेको युनियन पे चीनको राष्ट्रिय बैकको कार्ड एशोसिएशनको संस्था युनियनपेको सब्सिडरी हो । यो कम्पनीले विश्वभरका तीन सय संस्थासँग साझेदारी गरेको छ । यो कम्पनीको कार्ड १७० देशमा काम गर्छ भने ३० देशमा यो कम्पनीको कार्ड जारी हुन्छ । अहिले क्युआर कोड सेवा २६ देशमा संचालनमा छ ।
युनियन पे इन्टरनशेनलले उच्च गुणस्तरको सुपथ र सुरक्षित रुपमा अन्तरदेशीय पेमेन्ट सेवा सञ्चालन गर्दै आएको छ । जोसँग विश्वमा सबैभन्दा ठूलो कार्ड होल्डरहरुको आधार समेत छ । यसले परम्परागत रुपमा स्थानीय सेवासमेत दिन्छ, जसका कारण युनियन पेका कार्डहोल्डर तथा त्यस कम्पनीसँग जोडिएका मर्चेन्ट समेत बढ्दै गैरहेका छन् ।
इसेवा फोनपेले नेपालमा अनलाइन पेमेन्ट प्रणालीमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । यसको सञ्जालमा नेपालभर ३५ हजार एजेन्ट, एक हजार मर्चेन्ट र ४९ साझेदार बैंक जोडिएका छन् । कम्पनीले हाल चार सय जनालाई रोजगारी प्रदान गरिरहेको छ ।