युपीका मुख्यमन्त्री आदित्यनाथसँग नेपाली व्यवसायीहरुले आफ्ना समस्या राखे | राम−जानकी मार्ग निर्माण गरिने
वीरगंज । अयोध्याबाट ‘जन्ती’ भएर जनकपुरधाम आएका उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले जानकी मन्दिरमा पूजाआजाका साथै उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् । मुख्यमन्त्री योगी आदित्यनाथलाई वीरगंजका व्यवसायीहरूले आफ्नो समस्या सुनाएका छन् ।
जनकपुरधाम आइपुगेका मुख्यमन्त्री आदित्यनाथलाई भेट्न वीरगंजका व्यवसायीहरू जनकपुर पुगेका थिए । मुख्य मन्त्री आदित्यनाथसँग केही समय वीरगंजका उद्योगी व्यवसायीहरूले भेट गर्ने कार्यक्रम तय गरिएको थियो । भेटमा उद्योगी व्यवसायीहरूले नेपाल भारतको व्यापार घाटा, भारतमा लागु भएको जिएसटीले नेपाली उद्योगी तथा व्यवसायीलाई परेको समस्याका योगीलाई जानकारी गराएका थिए ।
व्यवसायीहरूले दुई देशबीचको पारवहन सम्झौतालाई सहज बनाउन तथा रामायण सर्किट कसरी प्रभावकारी बनाउने भन्ने विषयमा मुख्य मन्त्री योगीसँग छलफल भएको बताएका छन् । त्यस्तै नेपालमा समान लिएर भारतीय गाडी निर्वाध आउन सक्ने तथा नेपाली गाडी समान लिएर जाँदा विभिन्न समस्याहरू रहेको भन्दै समस्या समाधान गर्न मुख्यन्त्री योगीसँग आग्रह गरेका थिए ।
वीरगंजका उद्योगी बाबुलाल चचान, आम्ताराम काबरा, हिरालाल केडिया, वीरगंज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष गोपाल केडिया,वरिष्ठ उपाध्यक्ष सुबोध गुप्तालगायत मुख्यमन्त्री योगीलाई भेट्न पुगेका थिए ।
राम−जानकी मार्ग निर्माण गरिने
मिथिलाको पवित्र भूमि जनकपुर आउँदा गौरव महसुस भएको भन्दै योगीले सम्पूर्ण भारतवासीको दूत बनेर आएको पनि उल्लेख गरे । प्राचीन समयमा विश्व अन्धकार रहेको बेला जनकपुर ज्ञानको भूमिको रुपमा परिचित रहेको भन्दै भगवान बुद्ध र महावीरले समेत शास्वत सत्यको खोजी गर्दै जनकपुर आएको उनले बताए ।
जनकपुर र अयोध्याको दुरी कम गर्न चार लेनको राम−जानकी मार्ग निर्माण गरिने र यसले दुई धार्मिक स्थलको यात्रा चार घण्टामा तय गर्न सकिने उल्लेख गरे । जनकपुरधामको आफ्नो यात्रा दुई मुलुकबीचको जनताको भावना अनुसार स्थायी मैत्रीपूर्ण सम्बन्धलाई चित्रण गरेको उनको भनाइ थियो । जनकपुरमा आउँदा आफूलाई घरमै बसेको अनुभूति भएको पनि योगी आदित्यनाथले बताए ।