राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको उपहार रियल मड्रिड क्लबलाई हस्तान्तरण |

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रियल म्याड्रिडका अध्यक्ष एमिलियो बुट्रागुनोलाई पठाएको उपहार स्पेनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले हस्तान्तरण गरिन्।
स्पेनिस कोडा डेल रेको अन्तिम ३२ अन्तर्गत मंगलबार रियल म्याड्रिड र कासेरेन्योबीचको खेल अगाडि राजदूत पराजुलीले राष्ट्रपति भण्डारीले पठाएको गौतम बुद्धको मूर्ति हस्तान्तरण गरिन्।
नेपालमा दुई मैत्रीपूर्ण खेल खेलेर फर्किएको स्पेनिस फुटबल टिम कासेरेन्यो सिपीले रियल म्याड्रिडसँग खेलेको हो।
पोखरा र काठमाडौंमा स्थानीय टिमसँग एक/एक मैत्रीपूर्ण खेल खेलेर स्पेनिस टोली स्वदेश फर्किएको हो।
राजदूत पराजुलीले लालिगाका उपाध्यक्ष, रियल म्याड्रिडका मार्केटिङ हेड रोबर्ट कार्लोस र दुवै फुटबल क्लबका अन्य प्रतिष्ठित व्यक्तित्व तथा प्रतिनिधि सभाका सभामुख र अन्य सरकारी उच्चपदस्थ व्यक्तिसँग पनि भेट गरेकी थिइन्।
यस्तै राजदूत भण्डारीले युनेस्को विश्व सम्पदास्थल (ओल्ड टाउन अफ कासेरेस) प्लासेन्सिया क्याथेड्रल लगायत कासेरेसको भ्रमण गर्नुका साथै लुम्बिनी गार्डेन फाउन्डेसनले बुद्धको मूर्ति उपलब्ध गराएको संग्रहालयकोसमेत भ्रमण गरिन्।