आजदेखि सञ्चालनमा आउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल | प्रधानमन्त्री पुष्पकमल दाहालले आज उदघाटन गर्दै

काठमाडौं । सरकारले अंग्रेजी नयाँ वर्ष सन् २०२३ प्रारम्भको अवसर पारेर आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे विमानस्थल उदघाटन गर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक बिक्रम गौतमले बताए । उनका अनुसार फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा उडान हुने छ ।
अन्तर्राष्ट्रिय विमानस्थल भएपनि शुभारम्भ भने आन्तरिक एयरलाइन्सबाटै गरिने कार्यक्रम रहेको छ। ‘बुद्ध एयर, यति एयर, श्री एयर, सौर्य एयर, समिटलगायत नेपालमा भएका सबै डोमेस्टिक एयरलायन्सले यस दिन पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने बताइएकाे छ ।
अन्तर्राष्ट्रिय विमानस्थल भए पनि विदेशी एयरलाइन्सको टुंगो भने अहिलेसम्म लागिसकेको अवस्था छैन। पहिलो चरणमा बुद्ध एयरले पोखराबाट भारतका शहरहरुमा उडान गर्ने गरी भारत सरकारसँग अनुमति माग गरेको छ। अहिलेसम्म अनुमति भने प्राप्त गरिसकेको अवस्था छैन। कम्पनीले पोखरादेखि भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्ने योजना बनाएको छ। पोखरा विमानस्थलबाट सम्भवत सबैभन्दा पहिलो अन्तर्राष्ट्रिय उडान नेपालकै एयरलाइन्सबाट हुनेछ। श्री एयरलाइन्सले पनि अन्तर्राष्ट्रिय उडान गर्ने भनेर नेपालबाट अनुमति लिएको छ। वैदेशिक उडानको लागि नेपाली अनुमतिको अलावा सम्बन्धित देशको पनि अनुमति लिनु आवश्यक छ।
यो विमानस्थल २०१७ मा बनाउन शुरु गरेर ५ वर्षमा निर्माण सम्पन्न भएको हो। ४ वर्षमा निर्माण सम्पन्न गर्ने उद्देश्य भए पनि कोभिडका कारण बीचमा १ वर्ष समय थप गरिएको हो। विमानस्थल इपीसी मोडलमा निर्माण गरिएको हो। यसमा लागत निश्चित हुन्छ। जति नै समय लागे पनि मूल्यवृद्धिको भार आयोजनालाई पर्दैन। बीचमा कोभिड संक्रमणको समस्या नभएको भए समय भन्दा अगाडि नै सकिने थियो। २२ अर्ब नेपाली रुपैयाँको लागतमा यो विमानस्थल तयार भएको हो। चीनको इक्जिम बैंकको सहुलियत ऋण सहयोगमा यो विमानस्थल निर्माण सम्पन्न भएको हो। वार्षिक १.५ प्रतिशत सहुलियत ऋणमा चीनको इक्जिम बैंकले ऋण दिएको थियो। विमानस्थलजस्ता पूर्वाधार भनेको दीर्घकालीन उद्देश्य राखेर निर्माण गरिन्छ। यो विमानस्थल सञ्चालनमा आएको १० वर्षमा बीइपीमा पुग्ने क्यानको अनुमान छ।
तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब लागतमा निर्माण भएको छ। विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ। विमानस्थलमा साना र ठूला गरी ११ जहाज पार्किङ गर्न सकिनेछ। आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ उडान तथा अवतरण गर्ने क्यानको तयारी छ। विमानस्थलसँग वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो। यसको सात महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको हो।
एरोथाई कम्पनीको जहाजले गत मङ्सिर ५ देखि ११ सम्म सफलतापूर्वक यान्त्रिक परीक्षण उडान गरेको थियो। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या तीन पुगेको छ ।
यति र बुद्धबाट डेमो उडान
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती एयरलाइन्स र बुद्ध एयरले डेमो उडान गरिसकेको छ । यती एयरलाइन्सले गत पुस ७ गते दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भरेर पोखरा उपत्यकालाई एक फन्को मारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ०२ तर्फबाट २ः२७ मा अवतरण गरिएको थियो। एनएएनसी कल साईन भएको एटिआर ७२ बिमान पहिलो पटक विमानस्थलमा अवतरण गरिएको थियो। सोही दिन बुद्ध एयरले पनि ३ः०६ बजे आफ्नो जहाज अवतरण गरेको थियो ।