अबदेखि विद्युत् खरिद सम्झौता टेक अर पेमा गर्ने सरकारको निर्णय | यसअघि टेक एण्ड पेमा भएका सम्झौतालाई पनि संशोधन गर्न निर्देशन
काठमाडौं । सरकारले ऊर्जा प्रवर्द्धकहरूसँग विद्युत् खरिद सम्झौता गर्दा अबदेखि टेक अर पेमा सम्झौता गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा आज नेपाल विद्युत् प्राधिकरणमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।
वैशाख २५ गते ऊर्जामन्त्री पुनले जारी गरेको श्वेतपत्रका आधारमा १० वर्षमा १५ हजार मेगावाट उत्पादनलाई सघाउन यस्तो निर्णय गरिएको बताइएको छ ।
आर्थिक वर्ष २०८४८५ सम्ममा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई आधार मान्दै ५ हजार २ सय ५० मेगावाटसम्म रन अफ रिभर प्रकृतिका आयोजनाको टेक अर पेमा विद्युत् खरिद सम्झौता गर्ने निर्णय भएको हो । बैठकले प्राधिकरणले यसअघि टेक एण्ड पेमा गरेको सम्झौतालाई पनि संशोधन गर्न निर्देशन दिएको छ ।
बैठकले ४ हजार ५ सय मेगावाटसम्मका पिकिङ रन अफ रिभर प्रकृतिका आयोजनाको विद्युत् खरिद सम्झौता पनि टेक अर पेमा गर्न प्राधिकरणलाई निर्देशन दिएको छ । निजी क्षेत्रका ऊर्जा प्रवर्द्धकहरूले लामो समयदेखि टेक अर पेमा विद्युत् खरिद सम्झौता गर्न माग गर्दै आएका थिए । टेक अर पेमा सम्झौता गर्दा प्राधिकरणलाई कुनै घाटा भए त्यसको शोध भर्नाका लागि सरकारसँग माग गर्ने स्वीकृति पनि बैठकले दिएको छ ।
यस्तो प्रावधान राखिएपछि निजीक्षेत्रका ऊर्जा प्रवर्द्धकहरूलाई विद्युत् आयोजना निर्माणका लागि सहजै ऋण प्राप्त हुने र १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य हासिल हुने मन्त्रालयले विश्वास लिएको छ ।
के हो टेक अर पे ?
‘टेक अर पे’मा विद्युत् खरिद सम्झौता गरेपछि उत्पादकले विद्युत् उत्पादन गरिसकेपछि नेपाल विद्युत् प्राधिकरणले विद्युत् लिए पनि र नलिए पनि उत्पादकलाई पैसा तिर्नुपर्छ । विद्युत् किन्ने ग्यारेण्टी हुने भएकाले बैंक तथा वित्तीय संस्थाले पनि आयोजनालाई सहजै ऋण उपलब्ध गराउन तयार हुन्छन् ।
‘टेक एण्ड पे’मा विद्युत् खरिद सम्झौता गर्दा प्राधिकरणले विद्युत् लिएपछि मात्र उत्पादकलाई पैसा तिरे हुन्छ । त्यस्तो सम्झौतामा उत्पादकको विद्युत् किन्ने ग्यारेण्टी नहुने हुनाले बैंक तथा वित्तीय संस्थाले आयोजनामा ऋण लगानी गर्न हिच्किचाउँछन् ।