अर्थमन्त्रीले बनाएको समितिको बैठक : नागरिक लगानी कोष अब मार्केट मेकर ! |
काठमाडौं । पूँजी बजार र मुद्रा बजारको समस्या समाधानका लागि सुझाव दिन गठित समितिको दोस्रो बैठक आज पनि बस्यो । आजको बैठकमा मार्केट मेकरको भूमिकामा नागरिक लगानी कोषलाई काम गराउने विषयमा छलफल भएको छ ।
पूँजी तथा मुद्रा बजारमा मार्केट मेकरको रूपमा कुनै पनि संस्था नहुँदा बजारमा भइरहेको उतारचढावबाट लगानीकर्ता आत्तिएकाले मार्केट मेकरको रूपमा कोषलाई पूँजी बजारमा काम गराउनेबारेमा छलफल भएको एक सहभागीले बताए । साथै, बैंक तथा वित्तीय संस्थालाई शेयर ब्रोकरको लाइसेन्स दिने विषयमा पनि छलफल भएको ती सहभागीले जानकारी दिए । यद्यपि, यसबारे निर्णय भने भई नसकेको ती सहभागीले बताए ।
बैठकमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा समिति संयोजक शिवराज श्रेष्ठले बैंक तथा वित्तीय संस्थालाई ब्रोकरको लाइसेन्स दिन कुनै समस्या नरहेको बताए । बैठकमा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले समस्या समाधानका लागि गर्नुपर्ने काम तत्काल अघि बढाउन सम्बद्ध पक्षलाई आग्रह गरे । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले समस्या समाधानका लागि बोर्ड तयार रहेको बताए ।
बैठकमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर वृद्धि नियन्त्रण गर्ने विषयमा पनि छलफल भएको ती सहभागीले बताए । समितिले यी विषयमाथि छलफल गरी तोकिएको अवधिमा प्रतिवेदन तयार गर्ने गरी काम गरिरहेको पनि ती सहभागीले बताएका छन् ।
गत विहीवार गठन भएको उक्त समितिको आइतवार पहिलो बैठक बसेको थियो ।