गृहमन्त्रीसँग परिसंघको भेटवार्ता, खुला सीमा क्षेत्रबाट हुने अवैध व्यापार रोक्न आग्रह |
काठमाडौं । नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेको छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज गृह मन्त्रालयमा भेट गरी बधाई तथा शुभकामना दिँदै उद्योगी व्यवसायीहरुको समस्या, सीमा क्षेत्रमा भईरहेको अवैध कारोबारलगायतका विषयमा जानकारी गराएको हो ।
सो भेटमा परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको बताएका थिए । यस्तै, अधिकांश वस्तुको मागमा ३० देखि ७० प्रतिशतसम्म गिरावट आउँदा उद्योगी व्यवसायी आत्तिइरहेको जानकारी दिएका थिए ।
सरकारले विदेशी मुद्रा संचिती बढाउन आयातमा कडाई गर्दा पनि अटोमोबाइल बाहेक अन्य वस्तुहरु बजारमा उपलब्ध भईरहेको जानकारी दिँदै अग्रवालले मुलुकमा बढिरहेको अवैध कारोबार रोक्न गृह मन्त्रालयले प्रभावकारी कदम चाल्नुपर्नेमा बताएका थिए ।
उनले विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत पर्यटन पनि भएकाले ५० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।
सो अवसरमा नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्र संकटउन्मुख रहेको भन्दै सुधारका लागि आफ्नो मन्त्रालयले गर्नुपर्ने काम प्रभावकारी रुपमा सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि आफ्नो मन्त्रालयले गर्नुपर्ने कामलाई सधै उच्च प्राथमिकतामा राख्ने पनि बताएका छन् ।