तरलता न्युन भएपछि रिपोमार्फत ५० अर्ब रुपैयाँ बजारमा पठाउँदै राष्ट्र बैंक |

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार पुस १४ गते ५० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । ४५ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गर्न लागेको हो ।
रिपो आज बिहीबार अपराह्न २ बजे नै बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । यो रिपो माघ २९ गते परिपक्व हुनेछ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ ।
पुसमा आय करको पहिलो किस्ता भुक्तानी गर्दा बैंकिङ प्रणालीबाट राजस्वको रुपमा ठूलो पैसा जाने भएकाले केन्द्रीय बैंकले तरलता पठाउन लागेको हो । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् । रिपोमार्फत ठूलो रकम बजारमा पठाएपछि तरलता व्यवस्थापनमा सहयोग पुग्ने अनुमान गरिएको छ ।