अपी पावरले ५ प्रतिशत बोनस दिने | आगामी चैत १५ गतेदेखि अप्पर नौगाडबाट विद्युत् उत्पादन शुरू
काठमाडौं । अपी पावर कम्पनीले ५ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट चुक्ता पूँजीको करबाहेक सो मात्रामा लाभांश दिने भएको हो । आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले निर्माण गरिरहेको आठ मेगावाट क्षमताको अप्पर नौगाड साना जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा छ । आयोजनाले आगामी चैत १५ गतेदेखि विद्युत् उत्पादन शुरु गर्ने तयारी गरेको कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले जानकारी दिए ।
आयोजनाबाट उत्पादित विद्युत् बलाँच सवस्टेशनमा जोडिनेछ । अपी पावर कम्पनीले निर्माण गरेको सो आयोजनामा नेपाल एसबीआई बैंक र प्रभु बैंक लिमिटेडको संयुक्त लगानी रहेको छ । कम्पनीले यसअघि ८.५ मेगावाट क्षमताको नौगाड जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।
कम्पनीले यो आयोजना निर्माणपश्चात् ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको निर्माण शुरू गर्ने तयारी गरेको छ । त्यस्तै कम्पनीले १४ मेगावाट क्षमताका सोलार आयोजनाको निर्माणसमेत शुरू गरेको छ ।