सिक्टामा विक्रम पाण्डेमाथि सार्वजनिक छविमै आँच आउने गरी मुद्दा चलाइएको छ : महासंघ |
काठमाडौं । निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले पूर्वमन्त्री एवम् कालिका कन्स्ट्रक्सनका अध्यक्ष विक्रम पाण्डेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हचुवा तथा पूर्वाग्रही रूपमा सार्वजनिक छविमै आँच आउने गरी मुद्दा चलाएको आरोप लगाएको छ । महासंघले एक विज्ञप्ति प्रकाशित गर्दै प्रतिष्ठित कम्पनीको विगतको कामको अवमूल्यन गर्दै सार्वजनिक छविमै आँच आउने गरी शुक्रवार पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको बताएको छ ।
राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको मूल नहर परीक्षणकै क्रममा भत्किएपछि अख्तियारले छानबिनपछि निर्माण कम्पनी र सम्बद्ध सरकारी कर्मचारीमाथि मुद्दा दर्ता गरेको हो । महासंघले निर्माण व्यवसायीमाथि फौजदारी कानुनअन्तर्गत मुद्दा चलाउने कार्य तत्काल रोक्न पनि सरकारसँग माग गरेको छ । यस्तै, व्यवसायीमाथि मुद्दा चलाउने जस्ता गतिविधि रोक्न पनि माग गरेको छ ।
यसअघि जब्दीघाट पुल निर्माणमा अनियमितता गरेको आरोपमा मुद्दा चलाइएका बहालवाला सांसद हरिनारायण रौनियारको पनि बचाउ गर्दै महासंघले विज्ञप्ति प्रकाशित गरेको थियो । उक्त मुद्दामा सार्वजनिक खरिद अनुगमनको कार्यालयले नयाँ ठेक्कामा भाग लिन रोक लगाउने निर्णय गरेपछि महासंघले विरोध जनाएको थियो ।
निर्माणको काममा ढिलाइ गर्ने, गुणस्तरहीन काम गर्ने लाञ्छनाहरू लागेर बजारमा चर्चा चल्न थालेपछि पछिल्लो समय अख्तियारले त्यस्ता ठेकेदार र कम्पनीमाथि निगरानी बढाइरहेको छ । हालै मात्र २ महिनाको अवधिमा देशकै दुई ठूला निर्माण कम्पनी पप्पु र कालिकामाथि मुद्दा चलाइसकेको छ ।