राष्ट्रिय वाणिज्य बैंकद्वारा २०० जना नवनियुक्त अधिकृतहरुलाई तालिम |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनौट भएका दुई सय जना नवनियुक्त अधिकृतहरुलाई दश दिने पूर्व सेवाकालिन तालिम सञ्चालन सुरु गरेको छ ।
तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक रुपान्तरणको प्रक्रियामा रहेकाले प्रतिस्पर्धी बजारमा बैंकले लिएको रणनीति कार्यान्वयनमा यो ठुलो संख्याको जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताए ।
उनले विभिन्न प्रक्रिया पश्चात बैंकले एकपटक ठुलो संख्यामा युवा अधिकृतहरुलाई नियुक्ति दिएर बैंकिङ्ग क्षेत्र मार्फत देश र नागरिकको सेवा गर्ने अवसर प्रदान गरेको बताए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नवनियुक्त सहायक प्रबन्धक, तह ६ र उपप्रबन्धक, तह ७ का जम्मा दुईसय जना अधिकृतहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त अधिकृत कर्मचारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।