कृषि विकास बैंकको पौने चार लाखबराबरको सहयोग वृद्धाश्रमलाई |

काठमाडौं । कृषि विकास बैंकले भक्तपुरको एक ज्येष्ठ नागरिक आश्रमलाई पौने चार लाखबराबरको भौतिक सामग्री सहयोग गरेको छ । बैंकले गत शुक्रवार भक्तपुरको सूर्यविनायकमा सामाजिक सामुदायिक कार्यक्रमअन्तर्गत कृषि विकास बैंक दूधपाटी शाखाबाट सिद्धि स्मृति प्रतिष्ठान तथा सिद्धि शालिग्राम ज्येष्ठ नागरिक आश्रमलाई करिब ३ लाख ८५ हजार रुपैयाँबराबरको भौतिक सामग्री सहयोग गरेको हो ।
प्रदान गरिएका ती सामग्रीहरूमा रुम हिटर–६ थान, थर्मश स्टील बडी–३५ थान, टेलिभिजन–५ थान, स्टील दराज–४ थान, स्टील र्याक–४ थान र कुर्सी–१०० थान रहेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धि ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका बारे चर्चा गरेका थिए । उनले नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनतालाई आधुनिक तथा भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बताए ।
कृषि विकास बैंक लि. बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख सुदीपकुमार दाहाले बैंकले बालकदेखि वृद्धसम्मको आकर्षणका लागि विभिन्न किसिमका बैंकिङ सेवाहरू ल्याएको बताए ।
आश्रमका अध्यक्ष श्याम सुन्दर धमौडेलले कृषि विकास बैंक लि.ले पुर्याएको सहयोगको सराहना गरे ।
कार्यक्रममा कृषि विकास बैंक लिमिटेडका प्रवक्ता हिमलाल पौडेल, क्षेत्रीय कार्यालय काठमाडौंका शाखा प्रमुख दिलीप श्रेष्ठ, छगेन्द्र आचार्य, बैंकिङ कार्यालय सल्लाघारी भक्तपुरका प्रबन्धक आमोद यादव, गट्ठाघर भक्तपुरका प्रबन्धक अर्जुन भट्टराई, पूर्वकर्मचारी उद्धव शर्मालगायतको उपस्थिति रहेको थियो ।ब