आरएमडीसी लघुवित्तको साधारणसभा पुस २० गते, २० प्रतिशत लाभांश दिने |
काठमाडौं । राष्ट्रिय स्तरमा थोक कर्जा कारोबार सञ्चालन गर्दै आएको आरएमडीसी लघुवित्त वित्तीय संस्थाले आफ्नो बीसौं वार्षिक साधारणसभाको घोषणा गरेको छ । संस्थाको गत शुक्रवार बसेको सञ्चालक समितिको ३२१औं बैठकले पुस २० गते त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेण्टरमा बस्ने गरी साधारणसभाको मिति तय गरेको हो ।
लघुवित्तले साधारणसभामा १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ भने कम्पनीको आयव्यय विवरण, वासलातलगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रबन्धपत्र तथा नियमावलीका आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित गर्ने बताइएको छ ।
उक्त साधारणसभा प्रयोजनका लागि पुस ४ गतेदेखि साधारणसभाको दिनसम्म शेयर किताब बन्द हुने भएकोले उक्त लघुवित्तको लाभांश प्राप्त गर्न पुस ३ गतेभित्र शेयर स्वामित्व कायम गरिसक्नुपर्ने भएको छ । साधारणसभामा उपस्थित हुन शेयरधनीले आफ्नो नाममा उक्त लघुवित्तको नाममा भएको शेयर रहेको डिम्याट खाता नम्बर उपलब्ध गराई ३ दिन अगावै नाम दर्ता गराउनुपर्ने समेत उल्लेख गरिएको छ ।