शेयर लगानीकर्ता अर्थमन्त्रीको राजीनामा माग्दै आजदेखि अनशनमा | माग पूरा नभएसम्म अनशन जारी रहने
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा शेयर बजारको बाधक भएको आरोप लगाउँदै लगानीकर्ताहरूको एक समूह आजदेखि अनशनमा बसेको छ । उक्त समूहले अर्थमन्त्री डा. खतिवडाको राजीनामाको माग गर्दै नेपाल स्टक एक्सचेन्जको कार्यालय अगाडि अनशन बसेको हो ।
नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र अर्थ मन्त्रालयले बजार सुधारका धेरैवटा माग सम्बोधन गर्ने भन्दै कैयौं वर्षदेखि अल्झाएको आरोप उनीहरूको छ । यसको यथाशीघ्र कार्यान्वयनको मागसमेत उनीहरूको छ । शेयर लगानीकर्ता दबाब समूहका संयोजक हरि ढकालले बिहान १० बजेदेखि साँझ ५ वजेसम्म अनशन बस्ने कार्यक्रम रहेको जानकारी दिए । अनशन माग पूरा नभएसम्म जारी रहने पनि उनले बताए ।
हाल गोपाल कटुवाल स्वामी, गोविन्द पन्त, सुजन उप्रेती, सुष्मा ढुंगाना, सुजिता बराल, नारायणी पौडेललगायतका २० जना अनशनमा बसेका छन् ।
सरकारले पूँजीबजारसम्बन्धी आफ्नो धारणा स्पष्ट पार्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने दबाब समूहका संयोजक ढकालले बताए । पूँजीबजारविरोधी अर्थमन्त्रीलाई तत्काल राजीनामा गर्न लगाएर पूँजी बजारमैत्री अर्को नयाँ अर्थमन्त्री ल्याउनुपर्ने उनको भनाइ छ ।
अर्थमन्त्री डा. खतिवडाले पूँजी बजार सुधारका लागि उच्चस्तरीय समिति बनाए पनि त्यसले अहिलेसम्म कुनै पनि काम नगरेको उनले बताए। उनले भने, ‘यदि पूँजी बजारको सुधार नै गर्न चाहेको हो भने अर्थमन्त्रीले स्वयम् धितोपत्र बोर्ड र नेप्सेले बनाएका विगत ३÷४ वर्षदेखिका सुधारका कार्य गर्न ठाडो निर्देशन दिनुपर्थ्यो।’