चालू आवको पाँच महिनामा ११ जलविद्युत्ले पाए अनुमति | सबैभन्दा ठूला दुई आयोजनामा तिला–१ र तिला–२
काठमाडौं । सरकारले चालू आर्थिक वर्षको हालसम्ममा १ हजार ३ सय ८७ मेगावाट क्षमताका विभिन्न ११ जलविद्युत् आयोजनालाई आयोजना निर्माणका लागि अनुमतिपत्र प्रदान गरेको छ । चालू आवको हालसम्ममा अनुमतिपत्र दिइएका आयोजनाहरूमध्ये ठूला आयोजना ४४० मेगावाटको तिला–१ र ४२० मेगावाटको तिला–२ रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको विद्युत् विकास विभागले बताएको छ । ती दुवै आयोजना एससी पावर कम्पनीले निर्माण गर्न लागेको हो ।
यस्तै, मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनीले प्रवद्र्धन गर्न लागेको २८२ मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाले पनि अनुमतिपत्र पाएको छ । कुल १४० मेगावाट क्षमताको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाको प्रवद्र्धक बुटवल पावर कम्पनी रहेको छ । उक्त आयोजनाले पनि विद्युत् उत्पादनका लागि अनुमति पाएको छ ।
विभागका महानिर्देशक नवीनराज सिंहका अनुसार ह्याबिट्याट पावर कम्पनीले निर्माण गर्ने ५ मेगावाट क्षमताको हेवा ए, युनिटेक हाइड्रो पावर कम्पनीले निर्माण गर्ने ५.८ मेगावाट क्षमताको माथिल्लो फावाले पनि अनुमतिपत्र पाएको छ । सेञ्चुरी इनर्जी प्रालिले प्रवद्र्धन गर्ने ०.९७ मेगावाट क्षमताको हाडी खोला, गोरक्ष इनर्जी प्रवद्र्धक रहेको सुपर आँखुखोला जलविद्युत् आयोजनाले पनि अनमुतिपत्र पाएका छन् ।
नीलगिरि खोला हाइड्रो पावर कम्पनीको प्रवद्र्धनमा निर्माण हुने ६२ मेगावाटको नीलगिरि खोला र शक्ति ऊर्जा विकास कम्पनीले प्रवद्र्धन गर्ने ०.९५ मेगावाट क्षमताको तौथली खोलाले पनि अनुमतिपत्र पाएका छन् । विभागका अनुसार हाल सरकारको बास्केटमा रहेका आयोजनाको संख्या १०२ छन् । ती आयोजनाको क्षमता दुई हजार ७ सय ७० मेगावाट रहेको छ ।
विभागका अनुसार हालसम्म ७ हजार २ सय ६३ मेगावाट क्षमताका आयोजनाले त्यस्तो अनुमतिपत्र पाएका छन् ।