चौतारीको आईपीओ आज अन्तिम, साढे २२ गुणा आवेदन |
काठमाडौं । चौतारी लघुवित्तले निष्कासन गरेको आईपीओको आवेदन आजदेखि बन्द हुने भएको छ । संस्थाले निष्कासन गरिएको उक्त आईपीओमा मागभन्दा साढे २२ गुणा बढी आवेदन परेपछि आजदेखि नै निष्कासन बन्द गर्ने निर्णय गरेको हो ।
संस्थाले मंसिर १९ गतेदेखि सर्वसाधारणका लागि ५ लाख ६० हजार ७०० कित्ता निष्कासन गरेको थियो । हिजो शुक्रवारसम्ममा दुई लाखभन्दा धेरै आवदेकबाट १ करोड २४ लाख कित्ताका लागि आवदेन परेको छ । सो आईपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्मको आवदेन दिन पाउने व्यवस्था छ ।
आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट आस्बा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू वा मेरो शेयरमार्फत अनलाइन आवेदन दिन सक्ने छन् । संस्थाले प्राथमिक शेयर निष्कासनका लागि गरेको क्रेडिट रेटिङअनुसार ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ प्राप्त गरेको छ । इक्रा नेपालका अनुसार यो रेटिङले औसतभन्दा कमजोर आधार रहेको जनाउँछ ।